स्वर्गीय पत्रकार कृष्णसेन ईच्छुक स्मृति पुरस्कारबाट खनाल र क्रियाशिल पुरस्कारबाट साझेदारी संवाददाता राम मण्डल सम्मानित

राम मण्डल
323 पाठक संख्या

प्रेस सेन्टर पर्साले स्वर्गीय पत्रकार कृष्णसेन ईच्छुकको २२ औ स्मृति दिवसको अवसरमा वीरगञ्जका दुई जना पत्रकारहरुलाई नगद सहित सम्मान गरेको छ ।

सेन्टरले वीरगञ्जमा शनिबार आयोजना गरेको कार्यक्रममा पत्रकार कृष्ण उदास खनाललाई कृष्णसेन ईच्छुक पत्रकारिता पुरस्कार र साझेदारी दैनिकका वीरगञ्ज संवाददाता राम मण्डललाई प्रेस सेन्टर क्रियाशिल पत्रकारिता पुरस्कारले सम्मान गरेको हो ।

दुबैजनालाई नेपाल पत्रकार महासँघका केन्द्रिय महासचिव दिपेन्द्र चौहान र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले संयुक्त रुपमा सम्मान गरेका थिए ।

प्रेस सेन्टर पर्साले यस बर्षदेखि दुबै पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार राशि नगद २१ हजार र कदर पत्र रहेको छ ।हरेक बर्ष यो पुरस्कारबाट दुई जना पत्रकारलाई सम्मान गर्ने प्रेस सेन्टर पर्साका ईन्चार्ज निरज पिठाकोटे मगरले बताए ।

कार्यक्रममा प्रेस सेन्टर पर्साका सँस्थापक सदस्यहरु सुदर्शनराज पाण्डे,गोबिन्द देवकोटा,दिपक गौतम,जगत राईलाई पनि कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भुसाल,सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राधेश्याम धिमाल,वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,नेपाल बार एसोशियसन पर्साका कमलमोहन पोखरेल,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगर,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत पर्सेली सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालक प्रेस सेन्टर नेपालका सचिव शिवनाथ यादवले गरेका थिए । कार्यक्रममा पर्साका पत्रकार,बिभिन्न सँघ सस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Leave a review