रौतहट: ओम प्रकाश यादव नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई दबाउन सरकारले जति ताकत लगाएपनि आफूहरु आफ्ना माग र मुद्दाबाट पछि नहट्ने बताएका छन्।
आफूहरु विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा माग गर्दै विगत २७ दिनदेखि काठमाण्डौमा शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेको अवस्थामा आन्दोलनको २६ औं दिनमा आइतबार सरकारले प्रहरीद्वारा बल प्रयोग गर्न लगायत आफुहरुको आन्दोलनलाई कमजोर बनाउने प्रयास गरेको यादवले बताएका छन्।
आज सञ्चारकर्मीसंग कुरा गर्दै नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले सरकारले आफूहरुको जायज माग सम्बोधन गर्नुको सट्टा उल्टै आफूहरूमाथि दमन गरिरहेको बताए ।
देशभरका शिक्षक एकैसाथ आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको भन्दै उनले विद्यार्थीको पढाइलाई समेत मध्य नजर गर्दै सरकारले आफूहरुको माग छिटो सम्बोधन गर्नुपर्ने उनले बताए। सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म आफूहरु काठमाण्डौंबाट घर नफर्किने समेत उनले बताए।
सरकारले हिजो आन्दोलनरत शिक्षकमाथि बिना कारण पानीको फोहोरा र लाठी प्रहार गरी दर्जनौं शिक्षकलाई घाइते बनाएको घटनाको उनले घोर निन्दा र विरोध गरेका छन्।
सरकारले आफूहरुको माग सम्बोधन नगरे नेपाल नै बन्द गर्ने उनले चेतावनी दिए। त्यस कारण शिक्षकको जायज माग सम्बोधन गर्नेतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन्।
देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू विगत २७ दिनदेखि सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा १० औँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै आएका हुन् ।
आन्दोलनको क्रममा २६ औँ दिनमा हिजो प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका थिए


