बारामा नक्कली नोटको कारोवारीहरुको सकृयता बढेको देखिन्छ । केही महिना यता बारामा नक्कली नोटको कारोवार गर्नेहरु धमाधम पक्राउ पर्नुले नक्कली नोटको कारोबार बढेको देखिन्छ ।
बारा प्रहरीले बुधवार ठुलो संख्यामा नक्कली नोट सहित कारोबारमा संलग्नहरुलाई पक्राउ गरेको छ । प्रहरी १३ लाख १६ हजार बराबरको नेपाली नक्कली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।
बुधवार कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एक भारतीय र तीन नेपाली रहेका छन ।
पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी २५ वर्षीय राजन चौधरी,सोही नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ बस्ने महादेव साहको छोरा अन्दाजी १९ वर्षीय मोहन कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।
प्रहरीले विशेष सूचनाको आधारमा नक्कली नोटको कारोबारमा संलग्न रहेका सिम्रौनगढ नगरपालिका वडा नं.९ कचोर्वा,सानो बसवरीया र ठुलो बसवरीयाबाट नक्कली नेपाली रुपैयाँ रू.१३ लाख १६ हजार बराबरको नोट सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक खड्काले जानकारी गराए ।
पक्राउ परेका साहको साथबाट सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ सानो बसवरीया बि.आर ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल सहित नेपाली नक्कली रुपैयाँ एक हजारको ७ सय ७ वटा जम्मा रु.सात लाख सात हजार रुपैयाँ बरामद गरेको उपरिक्षक सड्काले बताए ।
यसैगरी प्रहरीले भारतको बिहार राज्य,जिल्ला मोतिहारी, थाना झरौखर,पञ्चायत कबैया ग्राम खरसलवा वडा नम्बर ७ बस्ने अन्दाजी ४० वर्षीय महम्मद आलमलाई सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ ठुलो बसवरीया स्थित साईकलमा लिई आउदै गरेको नेपाली नक्कली नोट रू. एक हजारको ६ सय ९ वटा जम्मा रू.छ लाख नौ हजार रुपैयाँ सहित पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट दुई वटा मोटरसाइकल ना ३४ प ३५१२ नम्बरको १५० सि.सि.को पल्सर,बि.आर ०६ ए.डब्लु २७५८ नम्बरको ग्लेम्बर मोटरसाइकल र एक वटा साईकल प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी गराए ।
यसैगरी प्रहरीले गत फागुन १० गते निजगढबाट बारागढी गाउँपालिका वडा नं. २ दौरवा टोलमा बस्ने अन्दाजी ३४ वर्षीय दिपेन्द्र माझीलाई नक्कली नेपाली एक हजारको नोट २ गरी जम्मा रू दुई हजार रुपैयाँ सहित बारा प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै गत माघ २५ गते पनि बारा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट एक हजारको ६१ वटा नक्कली नोट सहित ५ जनालाई पक्राउ गरिएको थियो । यसरी हेर्दा बारामा नक्कली नोटको कारोवारीहरु सकृयता बढेको देखिन्छ ।


