मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत नयाँ सरकार गठनका लागि बाटो खुल्यो

साझेदारी दैनिक
282 पाठक संख्या

मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन ।

अल्पमतमा रहेका मुख्यमन्त्री यादवले बुधवार प्रदेशसभामा मागेको विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन ।

प्रदेशसभामा बुधवार १०३ सांसद उपस्थित थिए । प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत र उनको विपक्षमा ५३ मत परेको हो ।

विश्वासको मत पाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता रहेको थियो । बुधबारको मतदानमा १–१ सिटको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरु भने अनुपस्थित रहेका थिए ।

मुख्यमन्त्री यादवलाई उनको दल जनता समाजवादी पार्टी,नेपाली काँग्रेस,लोसपा र राप्रपाले विश्वासको मत दिएका थिए भने विपक्षमा नेकपा एमाले,जनमत पार्टी,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका संसदीय दलका नेता बनेका यादव गत २०७९ पुस २३ गते नेकपा एमाले,जनमत,माओवादी केन्द्र,लोसपा,एकीकृत समाजवादी लगायतको दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । गठबन्धन फेर बदल गर्दै यसअघि चारपटक सम्म विश्वासको मत लिँदा मुख्यमन्धी यादव पाँचौपटक भने फेल भएका छन ।

मधेस प्रदेशसभामा १०७ सदस्य रहेका छन । जसमा नेकपा एमालेको सभामुखसहित २५ जना सांसद,नेपाली कांग्रेसको २२ जना,जसपाको १९ जना,जनमतको १३ जना,माओवादी केन्द्रको ९जना,लोसपाको ८,एकीकृत समाजवादीको ७ सिट छ । नागरीक उन्मुक्ति राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक÷एक सिट छ ।

जसपा नेतृत्वको मुख्यमन्त्री यादवको सरकार ढलेपछि अब मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनका लागि कसर थालिएको छ । अब बन्ने नयाँ गठबन्धनमा जनमत,एमाले,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीसहित गठबन्धन सरकार बन्ने तयारी गरिएको एक नेताले बताएका छन ।

Leave a review