व्यक्तिगत रिसइबीका कारण गाउँकै एकजनाले बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या गरेको खुलेको छ ।
घटनास्थलबाट प्राप्त एक भिडिओ ‘क्लिप’ले कुश्वाहा हत्या प्रकरणको पर्दाफास गरेको हो ।
शुक्रबार साँझ गोली प्रहार भएपछि घाइते कुश्वाहाले त्यस बेला बोलिरहेको कुराहरुको भिडिओ सर्वसाधारणले रेकर्ड गरेका थिए । रेकर्ड भएको उक्त भिडिओमा उनले आफूमाथि गोली प्रहार गरेको व्यक्तिका बारेमा बोलिरहेको देखिन्छ ।
सर्वसाधारणले आफ्नो मोबाइलमा कैद गरेका ती भिडिओ प्रहरी कहाँ पुगिसकेको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् । जसमा उनले गाउँकै सुरेन्द्र कुश्वाहाले गोली प्रहार गरेको भनेका छन् ।
उनको यो बयानले हत्याराको पहिचान भइसकेको अनुसन्धानमा संलग्न अधिकारीहरुको दाबी छ । अनुसन्धानमा संलग्न अधिकारीहरु मात्रै नभइ प्रमुख एसपी महेन्द्र खड्काले भिडिओ रेकर्ड भएकोबारे आफूलाई जानकारी पाइसकेकोे स्वीकारे ।
बाराका निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराइले मृतकले गोली लागेपछि घाइते रहँदाकै अवस्थामा बोलेका कुराहरुको भिडिओ रेकर्ड प्राप्त भएको पुष्टि गरे ।
निमित्त प्रजिअ भट्टराइले भने,‘ घाइते भइसकेपछि उहाँले प्रष्टरुपमा आफूमाथि गोली प्रहार गर्ने व्यक्तिको नाम नै लिनु भएको छ, जुन भिडिओ एसपी साहेबसंगै हामीलाई पनि प्राप्त भएको छ ।
त्यो भिडिओ हेर्दा मृतक कुश्वाहाले गाउँकै सुरेन्द्र कुश्वाहाले आफूमाथि गोली चलाएको प्रष्टरुपमा बोलेका छन् ।’त्यो भिडिओमा गाउँका सुरेन्द्र कुश्वहाको नाम लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
आरोपित कुश्वाहा भूपू आर्मीको जवान रहेको खुलेको छ । बाराका प्रहरी प्रमुख खड्काले पनि कुश्वाहा हत्या प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए ।मृतक कुश्वाहाले घाइते भएपछि घटना विवरणबारे आफूलाई फोन गरेर सबै जानकारी दिएको एसपी खड्काले खुलासा गरे ।
घटनामा संलग्न रहेको आरोपमा अहिलेसम्म ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुश्वाहाको हत्याका दोषीलाई कारबाहीको माग गर्दै बाराको कलैया बजार बन्द गरिएको थियो । बन्दकर्ताहरुले कलैया बजार नगर परिक्रमा गर्दै भरत चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले बजार बन्द गराउनुका साथै यातायात समेत ठप्प पारेका थिए । प्रदर्शनकारीहरुले कलैयाको भरत चौकमा टायर बालेर प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच विवाद समेत भएको थियोे । विहान ६ बजेदेखि १२ बजेसम्म कलैया बजारमा प्रदर्शनकारीहरुले विरोध जनाएका हुन् ।

