वडाअध्यक्षहरु नगरप्रमुखवीचको टसलले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औंँ नगरसभा अनिणर्य बनेको छ । नगरप्रमुख राजन पौडेले डाकेको नगरसभा दुईपटक स्थगित भईसकेको छ ।
शनिवारका लागि डाकिएको दोस्रो पटकको नगरसभा पनि गणकपुरक सङ्ख्या नपुगेर पुनः स्थगित भएको भन्दै नगरप्रमुख पौडेलले जनाएका छन ।
दोश्रो पटक गणपुरक संख्या नपुगे पछि शनिवार नगरसभा स्थगित भएको हो । पहिलो बैठक असाढ ६ गतेको लागि डाकिएको थियो र त्यसमा पनि गणपुरक संख्या नपुगे पछि नगरसभा स्थगित गरिएको जानकारी गराईएको थियो ।
दोश्रो बैठक असाढ ८ गते शनिवारको लागि डाकिएको तर गणपुरक संख्या नपुगेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख पौडेलले दोश्रो पटक बैठक स्थगित भएको जानकारी गराएका हुन ।
जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकांश वडाध्यक्ष,कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुले १० औं नगरसभा असाढ ६ गते नै पत्रकार सम्मेलनको आयोजना गरेर बिरोध जनाएका थिए । वडाको बजेटमा नगरप्रमुखले ५० प्रतिशत सम्म कटौती गरेको भन्दै वडाध्यक्षहरुले १० औं नगरसभाको बहिष्कार गर्दै आईरहेको छ ।
जीतपुरसिमरा उपमहानगर प्रमुख पौडेलले फेरी तेश्रो बैठक असाढ १० गतेको लागि तोकिएको जानकारी गराएका छन । विहीबार पहिलो पटक बैठक स्थगित गरेर शनिवार दोश्रो बैठक आह्वान गरेका नगर प्रमुखले असन्तुष्ट पक्षलाई आफ्नो अडानमा सहमत हुन दबाब सिर्जना गरिरहेका छन् ।
शनिवारको दोश्रो बैठकका लागि आवश्यक पर्ने संख्या उपस्थित नभए उक्त बैठक पनि स्थगित गर्ने र तेश्रो पटक बैठक आह्वान गरी २५ प्रतिशत सदस्य संख्या जुटाएर असार १० गते भित्रै नगर सभा सम्पन्न गर्ने तयारी नगर प्रमुखको देखिन्छ ।
विहिबार बैठक स्थगित गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै आफ्नो निर्णय र अडानबाट पछि नहट्ने संकेत पनि नगरप्रमुख पौडेलले गरिसकेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभामा नेकपा एमाले,नेपाली काँग्रेस,नेकपा माओबादी केन्द्र,लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी गरी पाँच दलको प्रतिनिधित्व छ । १ सय २५ सदस्य रहेको नगर सभामा हाल १२२ जना सदस्य कायम रहेका छन् ।
जीतपुरसिमराको सबैभन्दा ठुलो दल नेकपा एमालेका ७२ मध्य ६९ नगर सभा सदस्य हाल कायम छन् । एमालेबाट निर्वाचित वडा नम्बर ३ का वडाध्यक्ष तारावहादुर कार्की भ्रष्टाचार मुद्दामा निलम्बनमा छन् । वडा नम्बर १२ का वडा सदस्य होमनाथ पण्डितको राजीनामा र वडा नम्बर १४ बाट निर्वाचित रामपती थरुनीको निधन भएकाले तीनजनाको संख्या नगर सभामा कम भएको हो ।
उपप्रमुख लगायत १३ वटा वडामा प्यानल सहित जितेको एमालेले वडा नम्बर ४, ११ र २४ मा एक–एकजना वडा सदस्य जितेको थियो । नेपाली काँग्रेस संग २३ जना नगर सभा सदस्य छन् । काँग्रेसको चिन्ह लिएर चुनाव जितेकी वडा नम्बर १ की महिला सदस्य फुसुमदेवी श्रेष्ठ माओबादी केन्द्रको तर्फबाट उम्मेदवार बनेकी थिइन् ।
वडा नम्बर २४ मा एमालेकी दलित महिला सदस्य लालमुनी देबी ठाकुर सर्वसम्मत निर्वाचित भएकाले पाँचवटा वडा जितेपनि नेपाली काँग्रेसका २३ जना नगर सभा सदस्य रहेका छन् । नगर प्रमुख सहित चारवटा वडा जितेको माओबादी केन्द्रसंग २० जना नगर सभा सदस्य रहेका छन् ।
वडा नम्बर ११ मा एमालेका विन्दु चौधरी र वडा नम्बर ४ मा नसिम हुसेन वडा सदस्य निर्वाचित भएकाले माओबादीसंग प्रमुख सहित २० जना नगर सभा सदस्य छन् । लोसपाका ६ जना नगर सभा सदस्य छन् । वडा नम्बर ९ मा प्यानल सहित जितेको लोसपाका रञ्जित महतो धानुक वडा नम्बर १० मा वडा सदस्य छन् ।
यस्तै नेकपा एकिकृत समाजवादीसंग वडा नम्बर १० मा वडाध्यक्ष संजय प्रसाद पटेल सहित चारजना नगर सभा सदस्य रहेका छन् । नगर सभाको तेस्रो बैठकमा कुल सङ्ख्याको २५ प्रतिशत उपस्थितले पनि नगरको निती,कार्यक्रम तथा बजेट पारित गर्दा पारित मानिने कानुनी ब्यवस्था रहेको छ । तर नगर प्रमुख पौडेलले प्रतिनिधित्व गर्ने माओवादी केन्द्र पाटीका १६ प्रतिशत मात्र नगर सदस्य रहेका छन्।
अथार्त चाहिने ३१ जना नगर सदस्यमध्ये माओवादी पाटीका २० जना मात्र नगर सदस्य रहेका छन् । काँग्रेस संग गठबन्धन गरेर निर्वाचित भएका नगर प्रमुखले काँग्रेसको साथ लिएर नगर सभा सम्पन्न गर्ने सम्भावना न्युन छ किनभने काँग्रेसका पाँचैजना वडा अध्यक्षहरु नगर प्रमुखको विपक्षमा एमालेसंगै उभिएका छन् ।
लोसपा र एकिकृत समाजवादीका वडाध्यक्षहरुको साथ पाएपनि नगर प्रमुखसंग ३० जना मात्रै सदस्य हुनेछन् । आवश्यक कोरम पु¥याउन एकजना अझै अपुगनै हुन्छन् । यद्यपी शुक्रबारसम्म लोसपा नगरप्रमुखको विपक्षमा देखिएको छ भने एकिकृत समाजवादी मौन बसेको छ ।

