बारा जिल्ला भित्र छ महिनामा ५० वटा मानव अधिकार हनन्को घटना भएको एक कार्यक्रममा बताइएको छ ।
बाराको कलैया १ अवस्थित एभरेष्ट लजको सभागृहमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ( ईन्सेक ) बाराको आयोजनामा आइतबार आयोजित सो कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५का लागि संकलित घटनाहरुको अर्धवार्षिक समिक्षा कार्यक्रममा ईन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेलले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् ।
मानव अधिकार उल्लंघन घटनामा घरेलु हिंसा १९ बलात्कार प्रयासको घटना दुई वटा रहेको जनाइएको छ । यस्तै बलात्कारको घटना सात वटा तथा आत्महत्या दुरुत्साहनको घटना एउटा भएको सो तथ्यांकमा प्रस्तुत गरिएको छ ।
ज्यान मार्ने प्रयास एउटा,विद्युतीय कारोबार सम्बन्धी कसुर चार वटा भएको जनाइएको छ । बाल यौन दुव्र्यवहार तीन,बहु विवाह छ वटाको घटना भएको तथ्यांकमा बताइएको छ ।
हत्या तीन,परीक्षा सम्बन्धी कसुर तीन गर्भपतनको घटना एउटा रहेको तथ्यांक रहेको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले मानव अधिकार हनन्का घटना गम्भीर चिन्ताको विषय रहेको जनाए ।
बारा जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद दाहालले तथ्यांकलाई अझै सुधार गर्नुपर्ने जनाए । तथ्यांकलाई मिथ्यांक बनाउन नहुने उनले जनाए ।
बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घटनाहरुको सन्दर्भमा विवेचना गर्न आवश्यक रहेको जनाए । उनले यसलाई गम्भीर रुपमा लिनुपर्ने ।
बारा नागरिक समाजका महासचिव हिरालाल साहले दाइजो लगायतको घटनाहरुलाई समेत समेटनुपर्ने जनाए । महिला सञ्जाल बाराकी अध्यक्ष बबिता जयसवालले महिला सम्बन्धी हिंसाका घटनाहरु समेटनुपर्ने जनाइन् ।
दलित महिला संघ बाराकी अध्यक्ष किसमति देवी रामले दलितहरुमाथि भइरहेको विभेदका घटनाहरुलाई समेत मानव अधिकार वर्ष पुस्तकमा समेटनु पर्ने सुझाव दिइन् । मिरा अधिकारीले समाजमा दुव्यवसनीको संख्या बढदै गएकोमा चिन्ता व्यक्त गरिन् ।
सो कार्यक्रममा नेपाल प्रेस युनियनका मधेश प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ,मधेश प्रदेश समिति सदस्य संजिवकुमार मिश्र,नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डेय,समाजवादी प्रेस संगठन बाराका अध्यक्ष अजय साह,नेपाल प्रेस युनियन बाराका सचिव राजेश कुशवाहा,समाजवादी प्रेस संगठन बाराका सचिव नरेश गुप्ता लगायतको सो अवसरमा सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन ईन्सेक बाराका पूर्व प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष लक्ष्मी साहले गरेका थिए ।

