रञ्जन यादब /
बारा स्थित साना किसान कृषि सहकारी संस्था,डुमरबानाले तीनै तहको सरकारको राहत कोषमा सहयोग गरेको छ ।
सरकारको बिभिन्न कोषमा २ लाख ७५ हजार बराबरको आर्थिक र जिन्सी सहयोग गरेको हो ।
संस्थाले मुख्यमन्त्री राहत कोषमा ५५ हजार रुपैया, प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैया र राष्ट्रिय सहकारी महासंघको कोषम २५ हजार रुपैया सहयोग गरिएकोे संस्थाले जनाएको छ ।
त्यस्तै संस्थाको कार्यक्षेत्र रहेको स्थानीय निकाय राहतकोषमा १ सय ४५ बोरा सोना मंसुली चामल सहयोग गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका राहत कोषमा ७५ बोरा ,निजगढ नगरपालिका राहत कोषमा ४० बोरा र कोल्हवी नगरपालिका राहत कोषमा ३० बोरा चामल संस्थाले सहयोग गरेको संस्थाका मुख्य प्रबन्धक नारायण क्षेत्रीेले साझेदारीलाई बताए ।
प्रतिबोरा १५ केजीका दरले ९३ हजार ५ सय मुल्य बराबरको चामल संस्थाको सदस्य संख्याको आधारमा उपलब्ध गराईएको संस्थाका अध्यक्ष बिश्वनाथ लामिछानेले जानकारी दिए ।
संस्थाले उपलब्ध गराएको सहयोगमा संस्थामा कार्यरत कर्मचारीबाट समेत एक दिनको तलब बराबरको रकम संलग्न छ । आज एक कार्यक्रमका बिच संस्था संचालक समितिका अध्यक्ष लामिछानेले उक्त सहयोग हस्तान्तरण गरेको हो ।
जीतपुरसिमरा उमनपाका नगर प्रमुख डा.कृष्णप्रसाद पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे र ईलाका प्रहरी कार्यालयका सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोविन्द पुरीलाई संयुक्त रुपमा उक्त चेक तथा जिन्सी हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख डा.पौडेलले कोरोनाको कहरबाट बच्न नागरिक, समुदाय, सहकारी र सरकार सबैको विचमा सहकार्य हुनुपर्ने बताए ।
कार्यक्रममा वडा नं. १४ का वडाध्यक्ष रामशरण वर्तौला, संस्थाका सल्लाकार सदस्य एवं पूर्व अध्यक्ष कृष्णप्रसाद न्यौपाने ,सल्लाहकार सभापति भरतबहादुर खड्का ,खाद्य उद्योगका संयोजक संचालक प्रदिपसिंह बराल, संचालक सिताराम लामिछाने, मिनादेवी चौधरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन मुख्य संस्था प्रबन्धक नारायण क्षेत्रीले गरेको थियो ।