शुक्रवारराती देखी परेको बर्षाले बारा,पर्साका धेरै स्थान जलमग्न पर्साको भेडाहा खोलाको पानीले किसानको धान बाली डुबानमा

राम मण्डल
388 पाठक संख्या

शुक्रवार रातीबाट लगातार वर्षा भएपछि बाराको कलैया र पर्साको वीरगञ्जसहित तराईमा धरै स्थानमा जलमग्न हुनुको साथै डुबानमा परेको छ ।

बाराको कलैया उपमहानगरपालिका स्थित पन्नागबाग,अदालत रोड,रामपुर क्षेत्र जलमग्न भएको छ । बाराको १६ वटै पालिकाहरुको विभन्नि बस्तीहरु समेत डुबानमा परेको स्थानीयहरुले बताएका छन।

यस्तै पर्सा जिल्लाको वीरगञ्जका विभिन्न क्षेत्र डुबानमा परेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ छपकैया,घडिअर्वा,रानीघाट,श्रीपुर,नगवा,राधेमाई लगायतका ठाउँ डुबानमा परेका छन् । पानीलाई निकास दिन उपकरणसहित कर्मचारी परिचालन गरिएको छ। दिउँसो पानी पर्न बन्द भएपछि पानी घटेको छ ।

वर्षाका कारण वीरगञ्ज महानगरका किसानहरुको धानबाली समेत डुबानमा पारेको छ । बर्षाका कारणले महानगरको ग्रामीण वडाका किसानहरुले लगाएको धानबाली डुबानमा पारेको हो ।

त्यस्तै रोपाईको लागि तयार भएको खेतमा समेत स्थानीय भेडाहा खोलामा आएको बाढी पस्दा डुबानमा परेको छ । भेडाहा खोलामा आएको बाढीको पानीले वीरगञ्ज महानगरको वडा नम्बर २२ जगरनाथपुर टोल ३० लालपर्सा,प्रसोतीपुर टोल,३१ को बेल्वा प्रसौनी लगायतका स्थानमा धानबाली डुबानमा पारेको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण भेडाहा खोलामा बाढी आउदा महानगरको ती वडाहरुमा सयौ किसानहरुले यसअघि नै आ आफनो धान रोपाई गरिसकेका थिए ।उनीहरुको बाली डुबानमा परेको छ ।

यसैगरी ब्याडमा राखिएको बिउँ तयार भएपछि रोपाईको जोहो गरिरहेका किसानहरुको खेतमा बाढीको पानी पस्दा किसानहरु रोपाई गर्न सकेका छैनन् । भेडाहा खोलामा आएको बाढी र त्यसमा आएको माटोले आफनो मात्रै दुई बिगाहामा भर्खरै लगाएको धानबाली डुबानमा पारेको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुर टोलका किसान सफिउल्लाह अन्सारीले जानकारी दिए ।

आफुहित अन्य किसानहरुको रोपिसकेको धानबाली बाढीले डुबाएको तथा रोप्नको लागि तयार भएको खेत पनि बाढीले डुबाई दिएको उनले बताए ।बर्षा नरोकिए भेडाहा खोलामा झनै ठुलो बाढी आउने भएकाले थप क्षति गर्न सक्ने चिन्तामा किसानहरु रहेका छन् ।

वीरगञ्ज महानगरको वडा न्म्बर ३१ स्थित भेडाहा खोलाले हरेक बर्ष नै किसानहरुको बाली नाली डुबानमा पारेर नष्ट गर्ने गरेको छ ।तर बाढी रोक्नको लागि हालसम्म तिनै तहका सरकारबाट भने उचित पहल हुन सकेको छैन ।अविरल बर्षाका कारण वीरगञ्जका भेडाहा खोला,र्सिसिया नदी लगायतको जलस्तर बढेको छ ।

उता अबिरल बर्षाका कारण पर्साको ठोरी गाउँपालिकाको जनजीवन प्रभावित भएको छ । अविरल बर्षाकै कारण गण्डक नहरमा वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमाना पर्ने एउटा पुलको् पिल्लर चर्किएपछि ट्राफिक प्रहरीले उक्त पुल भएर तीन पाँग्रे तथा ठुला सवारी साधनहरु आवत जावत बन्द गरेको छ । प्रहरीले क्षतिग्रसत अवस्थामा रहेको उक्त पुलको साटो अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

ठोरीका अधिकांश ठाउँहरु जलमग्न भएका छन् । कतिपय घरमा पानी पसेर डुबान भएको छ ।ठोरी ३ को ब्रम्हानगर र नयाँवस्ती लगायतका ठाउँमा रहेका स्थानीयको घर डुबानमा परेको छ । हुलाकी सडक अग्लो र सडकको किनारको नालाको कारण सहजै पानीको निकास नहुँदा प्रायः जसो घरहरुमा पानी पसेको छ ।

समाचार तयार पार्दासम्मा बारा र पर्सामा बर्षाका कारण हालसम्म कुनै मानवीय क्षति भएको जानकारीमा आएको छैन ।

Leave a review