बारा कोराको पाँचौ सस्करण बारा राईडर एसोशिएसनले साउन २६ गते गर्न लागेको छ ।
बारा राईडर एसोशिएसनको आयोजनामा सिमरा चोकमा रहेको रामजानकी मन्दिरबाट सुरु हुने उक्त कोरा करिब ४० किलोमिटरको यात्रापछि सिमरा पार्कमा आएर सम्पन्न हुनेछ ।
आयोजक बारा राईडरका कोषाध्यक्ष आरके भट्टराईका अनुसार सिमराको राम जानकी मन्दिर,जीतपुर गढीमाई मन्दिर,जामे मस्जिद,वडा नं. ३ को शिव मन्दिर,गुम्बा, वडा नं. २ को मुसर्नीमाई, छठीमाई,वडा नं. १ को भिमेश्वर मन्दिर,पशुपति मन्दिर,गुम्बा हुँदै वडा नं. १४ को पशुपति मन्दिर,वडा नं. १५ को गुम्बा,वडा नं. १४ को रामजानकी मन्दिर, वडा नं. ४ कृष्ण प्रणामी मन्दिर,शिव मन्दिर,वडा नं. १ सिमरास्थित शिव मन्दिर घुमेर सिमरा पार्कमा आएर समापन गरिनेछ ।
कोरा सम्पन्न गर्नका लागि करिब साढे तीन लाख अनुमानित खर्च हुने उनले जानकारी दिए । कोरा सम्पन्न गर्नका लागि स्टार अस्पताल,नेपाल प्रहरी र ट्राफिक प्रहरीसंग समन्वय गर्ने भट्टराईले बताए । हिन्दु र बौद्ध धर्ममा कुनै पनि पवित्र धार्मिक वा तिर्थस्थललाई घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई कोरा भनिन्छ ।
कोरा साइकिलिङ च्यालेन्जका सहभागीले धार्मिक स्थललाई दाहिनेतर्फ पारेर अवलोकन गर्ने गर्दछन् ।बारा राईडर एसोशिएसनले यो पाचौं पटक कोरा च्यालेन्जको आयोजना गर्न लागेको हो ।
उक्त कार्यक्रममा एक सय ५० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन साउन २० गते भित्र पाँच सय रुपैया शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ ।
उक्त शुल्कवापत आयोजकले बिहानीको खाजा, खाना, पानी र बारा कोराको एक थान टिसर्ट उपलब्ध गराउनेछ । बारा राईडर एशोसिएसनमा ६० जना आवद्ध रहेका छन् ।
उक्त एशोसिएसनका अध्यक्ष शेषराज अधिकारी हुन् । १३ जनाको कार्यसमिति रहेको एशोसिएसनले साइकल चलाउन इच्छुक व्यक्तिलाई प्रोत्साहन गर्दै आएको छ ।

