बीरगंज : प्रक्रिया नपु-याएर स्वास्थ्यकर्मीहरु अस्पतालमा भर्ना गर्न लागिएको जनाउदै वीरगञ्जस्थित नारायणी अस्पतालमा स्वास्थ्यकर्मी भर्ना प्रक्रिया रोकिएको छ ।
स्वास्थ्य मन्त्रालयले पत्र पठाएर अस्पतालमा गर्न लागिएको स्वास्थ्यकर्मी भर्नालाई स्थगित गर्न भनेको हो।भदौ ११ गते अस्पतालका मेसु डा.एनामुल हकले अस्पतालमा स्वास्थ्यकर्मी भर्नाको बिज्ञापन प्रकाशित गरेका थिए । सो विज्ञापनमा करार सेवामा रहने गरी अस्पतालले पाँच जना मेडिकल अधिकृत आठौ तहको लागि विज्ञापन निकालेको हो ।
यस्तै २५ जना स्टाफ नर्स,चार जना फार्मेसी सहायक र दुई जना अ.न.मी.को लागि बिज्ञापन गरेको थियो । एक हप्ता नबित्दै स्वास्थ्य मन्त्रालयले नै स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा रोक लगाएको हो ।मन्त्रालयले नारायणी अस्पताललाई आइतबार पत्र पठाएर स्वास्थ्यकर्मी भर्नामा रोक लगाएको हो ।
मन्त्रालयले नै भर्ना प्रक्रिया स्थगित गरेपछि अहिलेका लागि स्वास्थ्यकर्मी भर्ना प्रक्रिया रोकिएको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.एनामुल हकले जानकारी दिए । स्वास्थ्यकर्मी तथा डाक्टरहरुको चरम अभाव यस अस्पतालमा खेपिरहेको हो ।
नारायणी अस्पतालमा लगातार दोस्रो पटक स्वास्थ्यकर्मी भर्ना प्रक्रिया रोकेको हो ।यसअघि पनि निमित मेसु हकले नै गत असार १४ गते २७ जना मेडिकल अधिकृतसहित ३३ नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन गरेका थिए । त्यो बेला सरकार नै परिवर्तन भएपछि उक्त विज्ञापन रद्द गरिएको थियो ।
नारायणी अस्पतालको निमित्त मेसुमा नियुक्त पाएको केही दिनमै हकले अस्पतालमा चिकित्सक र कर्मचारीको संख्या बढी भएको भन्दै २०८१ जेठ २१ गते ४७ जना कर्मचारीलाई सुचना प्रकाशन गरेर निष्कासन गरि दिएका थिए ।
अहिले भने पटक पटक नयाँ स्वास्थ्यकर्मी भर्नाको लागि विज्ञापन नारायणी अस्पतालले गर्दै आईरहेको छ ।नारायणी अस्पतालमा पछिल्लो समय विरामीहरुको चाप बढदै गएको भएपनि पर्याप्त स्वास्थ्यकर्मीहरुको अभावले अस्पतालको सेवाहरु प्रभावित भएको छ ।


