बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ को जितपुरमा आयोजित श्री गणेश चतुर्थी महोत्सवमा हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु आइरहेका छन्।
उनीहरुले यहाँ दर्शन गर्न र मेला भर्न आइरहेका हुन् । श्री गणेश चतुर्थीको अवसरमा आयोजना गरिएको गणेश चतुर्थी महोत्सव सहिँतको मेलामा दर्शनार्थीहरुको घुइँचो लागेको हो ।
गौशालाको फिल्डमा आयोजित सो पूजा महोत्सव मेलामा बारा र पर्साको बिभिन्न स्थानबाट हजारौंको संख्यामा मानिसहरु आइरहेका हुन्। मेलामा बिभिन्न किसिमको खेल तमासा,रोटे पिंङ्ग, सर्कश तथा बिभिन्न स्टलहरु रहेको छ।
यसले मेलाको आकर्षण बढेको छ। दैनिक १० हजारको हाराहरीमा मेला भर्न आइरहेका हुन्। श्री सिद्धिविनायक पूजा समिति जीतपुरका अध्यक्ष श्रीराम साह कानुका अनुसार मेला महोत्वको मुख्य आकर्षणको रुपमा श्री गणेश भगवानलाई चढाईएको दुई सय ६१ किलोको लड्डु रहेको छ ।
बारा,पर्सा,रौतहट,सर्लाही तथा मकवानपुर जिल्ला सम्मका अवलोकनकर्ताहरु लड्डुको आकर्षणले गर्दा यस मेलामा आउँने गरेको उनले बताए । मुख्य आकर्षणको रुपमा रहेको लड्डु ६५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको श्री सिद्धिविनायक पूजा समितिका कोषाध्यक्ष मनोहर सोनीले बताए ।
लड्डु बनाउँनका लागि एक क्ईन्टल चिनी, शुद्ध चनाको बेसन ५५ किलो,काजु २ किलो ५०० ग्राम,किस्मिस २ किलो,बदाम एक किलो,गाईको शुद्ध घ्यू ७ किलो,५० किलो बनस्पती घ्यू र अन्य मसला गरि लड्डु बनाउँ ६५ हजार रुपैयाँको लागत भएको उनले बताए ।
गणेश भगवानलाई चढाईएको २ क्विन्टल ६१ किलोको लड्डुलाई फोडेर पूजा बिसर्जन हुनेछ । विसर्जन शुक्रबार हुनेछ ।सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा सो लड्डुको प्रसाद वितरण गरिने छ ।
सात लाख पचास हजारको अनुमानित महोत्सवमा खर्च हुनेछ। यस वर्ष स्थानीय व्यापारी,उद्योगी तथा सर्बसाधारणहरुबाट सहयोग राशी संड्कलन गरिएको सोनीले बताए ।
महोत्सवको लागि पण्डाल,साउण्ड सिस्टम,पूजाको बिभिन्न सामग्री र अन्य गरि हाल सम्म तीन लाख पचास हजार रुपैयाँ खर्च भईसकेको सोनीले बताए । घोडा र बाजा–गाजाका साथ शोभा यात्रा निकालेर शनिवार देखि सुरु भएको गणेश चतुर्थी पूजा महोत्सवको बिहिवार पूर्णाआहुती तथा खिरभोजन वितरणको कार्यक्रम रहेको छ।
गणेश भगवानको प्रतिमूर्तीलाई शुक्रबार बागमती खोलामा बिसर्जन गरी महोत्सव समापन हुनेछ।

