रौतहट,करण कुमार मिश्र/ रौतहटको सदरमुकाम गौरसहित ११ वटा पालिकाहरु तीन दिनको अविरल वर्षाले प्रभावित भएको छ।
आइतबारबाट पानी पर्न रोकिए पनि सदरमुकाम गौर आउन जान कठिनाइ भइरहेको छ। जिल्ला अदालत गौरसहितका सरकारी कार्यालयहरु दुबानमा परेको कारण सेवा सुचारु भएको छैन।
सदरमुकाम गौर जान वीरेन्द्र राजमार्गको सबगढा जलमग्न भएको छ। प्रहरीले डोरी तानेर र गौर नगरपालिकाको ट्याक्टरले सर्वसाधारणलाई आरपार गराउन थालेको छ।भारतले सीमा क्षेत्रमा बनाएको बाधको कारण गौर पुर्ण रूपमा डुबानमा परेको छ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको आग्रहमा आइतबार भारतले सुलिस गेट खोलेपनि पर्याप्त मात्रामा सदरमुकाम गौरको पानी निकास हुन् नसकेको कारण गौर भन्सार कार्यालय,जिल्ला अदालत र नेपाल विद्युत प्राधिकरण लगायत धुप्रै सरकारी कार्यालयको सेवा प्रभावित भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार बाढी र डुबानमा फसेका १ सय २३ जनाको उद्धार गरिएको छ।
आइतबार पानी पर्न रोकिए पनि रौतहटको राजदेवी,गौर,परोहा,मौलापुर,बृन्दावन,गढिमाई,बौधिमाई,माधव नारायण,दुर्गाभगवती र कटहरिया नगरपालिकाको १ हजार ८०५ घर धुरीका ५ हजार ५ सय ९५ परिवार बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

