हाकिमले आर्थिक चलखेल गरेको भन्दै बहुदरमाईका मेयरले रोके अहेवको नियुक्ति

राम मण्डल
432 पाठक संख्या

वीरगञ्ज : पर्साको बहुदरमाई नगरपालिकाका मेयरले कर्मचारी नियुक्ति रोकेका छन्। नगरपालिकाका हाकिममाथि आर्थिक चलखेल गरेको आरोप लगाउदै उनले नियुक्ति रोकेका हुन्।

नगरपालिकाका मेयर सिँगासन साह तेलीले आईतबार एक सूचना जारी गरी नगरपालिकाले गर्न लागेको ६ जना अहेब पदको नियुक्ति प्रक्रियामा रोक लगाएका हुन्।

मेयर तेलीले प्रमुख प्रशासकीय अधिकृतले आर्थिक चलखेल गरी अहेब नियुक्तको लिखित नतिजा प्रकाशन गराएकोले उक्त नतिजा कार्यान्वयन नगर्न सूचना जारी गरेका हुन्।

नगरपालिकाले ६ जना अहेब नियुक्तको लागि लिएको लिखित परीक्षाको नतिजा असोज १ गते प्रकाशन गरेको थियो। प्रकाशित नतिजा प्रति योग्य उम्मेदवार छनौट नभई प्रमुख प्रशासकीय अधिकृतले मनोमानी ढंगले आर्थिक चलखेल गरी प्रकाशन गरिएको भनी ब्याप्नक जनगुनासो आएकाले नगरपालिकाको ध्यानाकर्षण भएको मेयर तेलीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

उक्त नतिजा जनप्रतिनिधिलाई दोषी बनाई आर्थिक चलखेलको आरोप लगाई प्रकाशन गरिएकोले नतिजा कार्यान्वयन नगर्न नगराउन हुन सूचना मार्फत जानकारी गराइएको छ ।

बहुदरमाई नगरपालिकाले गत जेठ २६ गते लिएको लिखित परीक्षामा ४४ जना उम्मेदवारहरुले परीक्षा दिएकोमा सो मध्ये अन्र्तवार्ताको लागि १० जना छनौट भएका थिए।

यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफालाई सम्पर्क गर्दा उनको मोबाईल उठेन ।बहुदरमाई नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिलेका कारण त्यहाँ अहिले सम्म पनि चालु आवको नगर परिषद हुन सकेको छैन ।

जस्का कारणले चालु आवको साढे दुई महिना भन्दा पनि बढी बिति सक्दा समेत नगरपालिकाले बजेट ल्याउन सकेको छैन्। बजेट नआउदा बहुदरमाई नगरपालिकामा विकास निर्माणका कार्यहरु ठप्प रहेका छन। कर्मचारीहरुले तलब भत्ता समेत पाउन सकेका छैनन्।

Leave a review