रौतहट : ओम प्रकाश यादव/ रौतहटको गरुडा नगरपालिका-५ महमदपुर स्थित झाझ नदीमा आज एक झोलुङ्गे पुलको उद्घाटन गरिएको छ।
गरुडा र वृन्दावन दुवै नगरपालिकाको सिमानामा नवनिर्मित झोलुङ्गे पुलको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले उद्घाटन गरेका छन्।
आज विहान आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख जयसवालले उक्त पुलको औपचारिक रूपमा समुद्घाटन गरेका हुन् ।
नगर प्रमुख जयसवालले उद्घाटन गरेपछि पुल आजदेखि सञ्चालनमा आएपछि त्यस भेगका दुवै पालिकाका हजारौं नागरिक लाभान्वित हुने भएका छन्।
गरुडा र वृन्दावन गरी दुवै पालिकालाई जोड्ने उक्त झाझ नदीको पुल सञ्चालन भएपछि दुवै पालिकाका बासिन्दालाई खासगरी खेतीबारी गर्न निकै सहज भएको छ।
प्रदेश र स्थानीय सरकारको गरी ५० लाखको लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो ।
यसअघि सो ठाउँमा पुल नहुँदा गरुडा नगरपालिकाका महमदपुर र वृन्दावन नगरपालीकाका भुषहाका किसानहरुलाई खेतीबारी गर्न सो नदी वारपार गर्न निकै समस्या हुँदै आएको थियो।
दुवै पालिकाका हजारौं किसानले जोखिम मोलेर झाझ नदी वारपार गर्न बाध्य थिए।
सो ठाउँमा पुलको नितान्त आवशयक्ता रहेको भनी स्थानीयहरुले व्यापक गुनासो गरेपछि किसानको समस्यालाई मध्य नजर गर्दै गरुडा नगरपालिकाका मेयर जयसवालले झोलुङ्गे पुल निर्माणका लागि पहलकदमी लिएका थिए।
अहिले पुल निर्माण भइ सञ्चालन भएपछि गरुडा र वृन्दावन नगरपालीकाका हजारौं कृषकलाई खेतीबारी गर्न सहज भएको गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताए।
पुल निर्माणले झाझ नदी पारीबाट घाँस दाउरा लगायतका काम गर्न पनि स्थानियहरुलाई सहज भएको मेयर जयसवालले बताए।
गरुडा नगरपालिकाका मात्रै करिब एक हजार घरधुरी लाभान्वित भएका छन्। भने वृन्दावन नगरपालीकाका दुई गाउँ लाभान्वित भएका छन् ।
यसैबीच नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्न गएका गरुडा नगर प्रमूख कन्थमनी प्रसाद कलवारलाई स्थानीयहरुले भव्य स्वागत गरेका छन् ।
विकट ठाउँमा झोलुङ्गे पुल निर्माण गरी किसानहरुको लागि एतिहासिक काम गरेको भन्दै महमदपुरवासी नगर प्रमुख जयसवाललाई माला र खादा ओढाएर सम्मान गरेका थिए ।
उद्घाटन कार्यक्रममा गरुडा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलम,गरुडा नगरपालिका-५ का वडा अध्यक्ष राम विनोद जयसवाल लगाएत स्थानियबासिको सहभागिता रहेको थियो।

