नेपाल जनता पार्टीद्वारा पर्साका प्रमुख जिल्ला अधिकारीलाई दिइयो ज्ञापन

राम मण्डल
320 पाठक संख्या

वीरगञ्ज : हिन्दु धर्म विरुद्ध अभिब्यक्ति दिनेलाई कारवाही गर्न माग गर्दै नेपाल जनता पार्टीले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।

वीरगञ्ज छपकैया निवासी जफर अन्सारीलाई कारवाहीको गर्न माग गर्दै पार्टीले मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाइ ज्ञापन पत्र बुझाएको हो।

पार्टीका पर्सा अध्यक्ष अनिल कुर्मीद्वारा हस्ताक्षरित ज्ञापन पत्र गृह मन्त्रालय,मधेश प्रदेश गृह मन्त्रालय,जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्सालाई बोधार्थ गरी प्रमुख जिल्ला अधिकारी भुसाललाई बुझाएको हो।

जफर अन्सारीले नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ पर्साको कार्यक्रममा उत्तेजित एवम् हिन्दु आस्थालाई अपमानित गर्ने कार्य गरेको आरोप लगाउदै नेजपा पर्साले कारवाहीको माग गरेको हो।

समाजमा विखण्डन ल्याउने,समाज विभाजित गर्ने कार्य कसैबाट नहोस् भनि ज्ञापन पत्रमा ध्यानाकर्षण समेत भएको जनाइएको छ।

९४% सनातन धर्म मानिने हाम्रो देशमा जब–जब हिन्दू समाजको कार्यक्रम हुन्छ,तब–तब हिन्दू माथि नै आक्रमण र कुठाराघात हुने गरेको पाईएको पार्टीले जनाएको छ।

धर्म–निरपेक्ष शब्दको आडमा हिन्दूहरुको आस्था माथि खेलवाडको कार्य भईरहेकोले त्यस प्रति पार्टीले चिन्ता ब्यक्त गरेको छ।

दोषीलाई कारवाही नगरे संघर्षका कार्य गर्न पार्टी बाध्य हुने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ। ज्ञापन पत्र बुझाउने टोलीमा नेपाल जनता पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Leave a review