रौतहट : ओम प्रकाश यादव/ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार बाराको बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेका छन्।
स्थानीय तह उपनिर्वाचनको क्रममा मधेश प्रदेशको विभिन्न जिल्लामा निर्वाचन लक्षित घरदैलो कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन्। कांग्रेसका महामन्त्री शर्माले बिहानै गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन गरेका हुन्।
गढीमाई दर्शन गरेपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले आफु यहाँ आउँदा हर्षित भएको जनाए। पाँच वर्षपछि लाग्न थालेको गढीमाई मेलाको क्रममा माता गढीमाईसंग दर्शन गर्न पाउँदा आफू निकै गौरवान्वित र खुसी भएको शर्माले बताए।
विश्वमै चर्चित एवं पवित्र धार्मिकस्थलको रूपमा रहेको बरियारपुरको गढीमाई माताको दर्शन गर्ने सौभाग्य प्राप्त भएको जनाए। उनले यो आफैंमा निकै खुशीको क्षण भएको उनले बताए।
गढीमाई माताको आशीर्वाद सबैलाई प्राप्त हुन्छ,उनले भने।
गढीमाईले सबैलाई कल्याण गरून् भनी उनले कामना गरे पाँच वर्ष पछि लाग्न थालेको धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको विश्व प्रख्यात बरियारपुरको गढीमाई मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन उनले मेला समिति सहित सबै पक्षसंग आग्रह समेत गरेका छन्।
गढीमाई दर्शन गरेका कांग्रेस महामन्त्री विश्व प्रकाश शर्मा रौतहट स्थित उपनिर्वाचन लक्षित कार्यक्रममा सहभागी हुने कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिएका छन्।
महामन्त्री शर्माले उपनिर्वाचन हुन् लागेको रौतहटको ईशनाथ नगरपालिका – ७,राजपुर नगरपालिका –६ र गढ़ीमाई नगरपालिका – ८ मा पार्टीको घरदैलो कार्यक्रममा सहभागी हुने प्रचार विभाग प्रमुख गुप्ताले बताए।
महामन्त्री शर्मा बिहीबार राती कांग्रेसका मधेश प्रदेश सभापति कृष्णाप्रसाद यादवको घर रौतहटको विरनगरामा बास बस्ने गुप्ताले साझेदारी दैनिकलाई बताए।

