कठमाण्डौं : निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई तत्काल कारवाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
निर्वाचन आयोगकी सहसचिव एवम प्रवक्ता नीता पोखरेल अर्यालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी आयोगले यस्तो निर्देशन दिएको जनाएकी हुन्।
स्थानीय तह उपनिर्वाचन यही मंसिर १६ गते ३२ जिल्लाको ४१ स्थानीय तहका विभिन्न पदमा हुन गइरहेको छ। यो निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नको लागि मंसिर २ गते देखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म निर्वाचन आचार संहिता २०७९ लागु भएको छ।
उपनिर्वाचनको प्रचार प्रसारको क्रममा आचारसंहिताको छिटफुट घटना भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनको लागि विभिन्न संयन्त्रहरु परिचालन भएको छ।
आचारसंहिता प्रतिकूल हुने घटनासंग सम्बन्धित विषयहरु आचारसंहिता र अन्य निर्वाचन सम्बन्धी कानुनमा रहेको प्रभावकारी कार्यान्वयनबाट समाधान गर्न आवश्यक रहेको विज्ञप्तिमा लेखिएको छ। निर्वाचन आचारसंहिता २०७९ अनुसार झण्डा,प्रचार प्रसार सामाग्री,पर्चा,साइनबोर्डको आकार,साइज,रङ्ग भन्दा फरक हुन नहुने उल्लेख छ।
प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड,फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न श्रव्य सामाग्री बजाउन र श्रव्य दृश्यहरु सामाग्री प्रदर्शन गर्न नहुने,दश दशवटासम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न नपाइने पूर्ण पालना गर्न नगराउन आयोगले निर्देशन दिइएको छ।
स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका डिजाइनहरू आयोगले तयार गरेको छ। उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्रहरू तयार गरिएको निर्वाचन आयोगले जनाएको छ।
स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन्। उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूनाहरू सम्बन्धित सबैको जानकारीको लागि आयोगको वेबसाइट धधध.भभिअतष्यल.नयख.लउमा राखिएको छ।
उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने भएकोले सो अनुसार आवश्यक व्यवस्था गरी उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता हुने गरी आवश्यक कार्य गर्न गराउन आयोगले आह्वान गरेको छ।

