जीतपुर : मधेश प्रदेशसभा सदस्य देवनारायण प्रसाद चौधरीले आर्थिक जीवन सहायताका निमित्त सहकारीहरुले महत्वपुर्ण भुमिका खेलेको बताएका छन ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड छातापिपराको १० औं बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै प्रदेश सांसद चौधरीले यस्तो बताएका हुन ।
उनले राज्य नपुगेका ठाउँमा सहकारीहरुले साना किसान,विपन्न,गरिबलाई कार्यक्रमहरुमा समेटेर सहकारी संस्थाहरुले राज्यलाई सहयोग गरिरहेको बताएका छन । ग्रामिण अर्थतन्त्रको बलियो आधारका रुपमा संचालित सहकारीहरु र आवद्ध सदस्यहरुलाई सहयोग हुनेगरी राज्यले नीति बनाउन पर्ने उनको भनाई छ ।
पछिल्लो समयमा सहकारीलाई कमाईखाने भाडो बनाएर सहकारी क्षेत्रकै बद्नाम गर्ने लागिपरेका बद्मासहरुलाई कार्वाही गर्न जरुरी रहेको बताए । राम्रो गर्नेलाई सहयोग हुनेगरी प्रदेश कानुन संसोधनमा आफुले भुमिका खेल्ने सांसद चौधरीले बताएका छन ।
साधारणसभा उद्घाटन कार्यक्रममा साना किसान कृषि सहकारी संघका जिल्ला अध्यक्ष मिश्रीलाल सहनी,कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साह,साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.को हेटौंडा शाखाका अधिकृत रामबाबु सिंह,साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका ब्यवस्थापन प्रमुख पुष्पराज खतिवडा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ र ८ मोतीलाल राउत यादव र शिवशंकर प्रसाद महत्तो कोईरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कुल १ हजार ९० जना शेयर सदस्य रहेको सहभागी संस्थाले ८ करोड २४ लाख ४३ हजार बढीको कारोबारबाट गत आ.व.०८०।०८१ मा २१ लाख १८ हजार मुनाफा गरेको थियो । उक्त नाफबाट सदस्यहरुलाई १३ प्रतिशत लाभाशं वितरण गर्ने सभाले निर्णय गरेको प्रबन्धक जीतेन्द्र चौधरीले जानकारी दिएका छन।
संस्थाका अध्यक्ष विजयता चौधरीको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभा संचालक पुनमदेवी महत्तोको स्वागत एवं प्रबन्धक चौधरीको संचालनमा सम्पन्न भएको थियो ।


