वीरगंज : सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले बीरगंज–रक्सौलस्थित अन्तर्राष्ट्रिय मितेरी पुल क्षेत्र वरिपरि गरिएको सौन्दर्यकरण कार्यको आईतवार स्थलगत निरीक्षण गर्नुभएको छ।
महानिरीक्षक अर्यालले निरीषणका क्रममा नेपाल–भारत सीमा क्षेत्र देशको पहिचानसँग जोडिएको संवेदनशील स्थान भएको उल्लेख गर्दै यहाँको वातावरणीय सौन्दर्य, स्वच्छता र सुरक्षा व्यवस्थापन सुदृढ हुन जरुरी रहेको बताएका छन । उनले सीमा क्षेत्रको सुरक्षा, सरसफाइ तथा व्यवस्थित पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको थियो ।
बीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर तथा सशस्त्र प्रहरी बल १३ नम्बर गण, बीरगंजको संयुक्त आयोजनामा “हामी सबैको जीवनमा हरियाली र प्रकृतिको महत्व अनमोल रहेको सन्देश”सहित सञ्चालन गरिएको अभियानले बीरगंजलाई हराभरा, स्वच्छ र वातावरणमैत्री सहर बनाउने लक्ष्यलाई थप बल पुगेको बीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताए ।
निरीक्षण कार्यक्रममा नगरप्रमुख सिंह, सशस्त्र प्रहरीका एसपी पुरन चन्द भट्ट, सशस्त्र प्रहरीका डीएसपी पुरुषोत्तम भण्डारी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी,रक्सौलका सिमा सुरक्षाबलका पदाधिकारी लगायत उपस्थिति रहेको थियो।


