बारा : कतिपय पालिकाहरुको न्यायिक समितिमा उजूरी नपरेपनि प्रहरीका विभिन्न यूनिट सहित जिल्ला प्रहरी कार्यालयलाई मुद्दा विवाद मिलाउन भ्याईनभ्याई छ।
जिल्ला प्रहरी कार्यालय परिसरमा मेला जत्तिकै भिडभाड देखिएकोमा आइतबार करिब १५ वटा विवादमा समाधान सहित मिलापत्र गराउने काम भएको थियो। केहीलाई कानुनी प्रकृयाका लागि थुनामा हाल्ने काम गरिएको थियो ।
दैनिक दर्जनौं उजूरी र सोको नियमित छलफलका कारण जिल्ला प्रहरी कार्यालयमा प्राय भिडभाड हुने गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। सामान्य विषयहरुमा समेत दिनभरी छलफलमा बसी सहजीकरण गर्नु पर्ने तथा प्रहरी जनशक्ती ब्यवस्थापनमा नै प्रभाव पर्ने गरी प्रहरीमा विवादका उजुरी आउने गरेका छन् ।
गल्ती गर्ने नउम्कीयोस्,दोषी नफसोस्,भन्ने विषयमा सचेत भएर यस्ता छलफलहरुबाटै निकास निकाल्ने काम गरिरहेको उनले जनाए। साँधसिमना,पशुचौपायाले बालि नष्ट,भनाभन र सामान्य विवादलाई समेत ईसु बनाएर मानिसहरु प्रहरीकोमा आउने गरेको पाइएको छ।
यस्ता सामान्य विषयमा गाउँटोलमै नमिलाएर विवादितहरु अघिल्लो दिन एउटा र भोलिपल्ट अर्को पक्ष हामी अन्यायमा पर्यौं भन्दै लावालस्कर लिएर लिएर प्रहरीमै आउने गरेको पाईन्छ ।
साँध सिमानाको विवाद,हिंसाको विषय,सामान्य वादविवाद समेत पालिकाको न्यायिक समिति मार्फत मिलाउन सकिन्छ। तर पाि मानिसहरु प्रहरीमै आउने क्रम रोकिएको छैन ।
पालिकाका जनप्रनिधिले गर्ने फैसलामा राजनैतिक प्रभाव र आस्थाका आधारमा भेदभाव हुने गरेको भन्दै प्रहरीमा उजुरी आउने क्रम बढेको छ। कतिपय त अर्कोपक्षलाई देखाईदिने भने उजुरी लिएर आउने प्रचलन रहेको पाइएको प्रहरी नायब उपरीक्षक सापकोटाले भने।
सामान्य विषयमा उजुरी बढ्नुको अर्को मूख्य कारण भनेको विचौलिया रहेको र विचौलियाका कारण जिल्ला प्रशासन र प्रहरीलाई सँधै सास्ती हुने गरेको छ । कलैयामा घर भएका,गाउँमा घरभै सदरमुकाममा डेरागरी बस्ने जान्नेसुन्नेका रुपमा परिचय बनाएकाहरु विचौलियाहरु छन् ।
विभिन्न पार्टी र पार्टीका भातृ संगठनका नेता कार्यकर्ताहरुको कारण पालिकाको न्यायिक समितिमा उजुरी न्युन पर्ने गरेको छ । त्यसको फाईदा विचौलियाले लिँदै आएका नागरिक समाजका अध्यक्ष उमेशलाल दास बताउँछन्। विचौलियाका कारण गरिब दलित निमुखालाई समस्या हुने गरेको देखिन्छ ।
सामान्य भन्दा सामान्य विवादलाई कमाईखाने भाँडो विचौलियाले बनाउने गरेको पाईएको छ। गाउँका सर्वसाधारणका विचमा विवाद हुने वित्तिकै ठुलो मुद्दा बनाई जिल्लामा तान्ने र विवाद बढाउने उनीहरुको कामै हो।
विवादलाई मलजल गर्ने र दुवैपक्षसँग विभिन्न बहानामा रकम लिने र घर चलाउने काम उनीहरुले गर्ने गर्छन्।सदरमुकाम कलैयामा मात्रै एकसयबढीले यसैगरी विवादलाई कमाईखाने भाँडो बनाएर जीवन चलाई रहेका छन् उनले भने। पिडितलाई ढाड्स दिने,उनीहरुलाई तल राखेर माथिल्लो तलामा रहेको प्रहरी प्रमुखको कक्षमा छिरेर नमस्कार गर्ने,अनि तल बसेका पक्षसँग भ्यालबाट हात हल्लाउने काम गरेर विचौलियाले आफ्नो प्रभाव बढाउने गर्छन्।
यती खर्च लाग्ने भयोभनी विवादमा संलग्न पक्षसँग पालैपालो रकम असुल्ने विचौलियाहरुको काम रहेको छ।
उनीहरुले छलफलको समय समेत आफु अनुकुल बनाउन प्रहरीलाई समेत प्रभावमा पार्दै आएका छन्। असुली धन्दा सकिएपछी छलफलमा बोलाउने, त्यतिन्जेल दुईपक्षको रिस समेत आफैं कम भएको हुन्छ । विषय खासैै ठुलो नभएकाले गर्दा एकछिनको छलफलमा विवाद मिलिहाल्छ ।
प्रहरीले दुईपक्षलाई आईन्दा विवाद नगर्ने सहमतिपत्रमा हस्ताक्षर गराई पठाईदिन्छ । छलफलमा आफ्नो प्रभाव देखाउन आफ्नो पक्षमा बोलिदिन भन्दै दुबैपक्षले ८,१० जनाका दरमा मान्छे लिएर आउँछन् ।यसरी ल्याईका मान्छेका मोटरसाईकलको तेल, मासु चिउरा,रक्सी सहितको खाजा र उक्त दिनको ज्याला समेत दिनेगरेको सुनिन्छ।
यस्ता विचौलिया जो नियमित विभिन्न विषयका उजुरी लिएर आउने र छलफलमा भाग लिने गरिरहेका छन् । यद्यपी प्रहरीसम्म पिडितसँग रकम लेनदेन गरेको एउटा पनि उजुरी छैन । विना आधार प्रमाण कसैलाई विचौलियाका रुपमा कार्वाही गर्न समस्या हुने प्रहरी नायव उपरिक्षक सापकोटाले बताए।
बलात्कार,ज्यान मार्ने उद्योग,महिला,बालबालिका र जेष्ठ नागरिकसँग सम्बन्धी मुद्दा समेत रकमको लेनदेनमा विचौलियाले गाउँ घरमै मिलाउने गरेको पाईएको छ । यस्ता विषयमा प्रहरीले शुन्य सहनशिलताका आधारमा कार्वाही गर्नु पर्ने हुन्छ ।
थाहा पाएसम्म प्रहरीले एक्सन लिन्छ तर लेनदेनको विषयमा चुँईक्क कोही बोल्दैन । म अन्यायमा परेँ भनेर उजुर आउँछ । ५,७ दिनपछी समाधान भयो भन्ने खबर पाईन्छ,उनले भने।

