रौतहटको सुन्दरपुर मेलामा खेसारीलालको बेजोड प्रस्तुति

साझेदारी दैनिक
483 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ भोजपुरी सुपर स्टार खेसारीलाल यादवले रौतहटमा बिहीबार आफ्नो कलाको बेजोड प्रस्तुति दिएका छन्।

रौतहटको गढीमाई नगरपालिका –४ संग्रामपुर सुन्दरपुरमा गढीमाई मेलाको अवसरमा बिहीवार उनले यस्तो प्रस्तुति दिएका हुन्। यहाँ आयोजित साँस्कृतिक कार्यक्रममा भारतीय भोजपुरी गायक समेत रहेका अभिनेता खेसारीलाल यादवले लाखौं दर्शक माझ आफ्ना सानदार प्रस्तुति दिएका छन्।

गढीमाई नगरपालिका –४ मा पाँच वर्षपछि यस वर्ष पञ्चवर्षीय गढीमाईको मेला लागेको छ। बाराको बरियारपुरमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेला पछि सबभन्दा दोस्रो ठूलो मेलाको रूपमा रौतहटको सुन्दरपुरमा गढीमाई मेला लाग्ने गर्दछ ।

उक्त मेलालाई सभ्य र भव्य बनाउन मेला आयोजक समितिले भोजपुरी सुपर स्टार खेसारीलाल यादवलाई आमन्त्रित गरेका थिए।

कलाकार खेसारीलाल यादवलाई हेर्न रौतहट,बारा,सर्लाही सहित विभिन्न जिल्लाका साथै भारत बिहारबाट पनि लाखौं दर्शक रौतहटको सुन्दरपुरमा पुगेका छन्। भीडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई निकै हम्मे हम्मे परेको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्की र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईको कमाण्डमा खटेको प्रहरीले भीडलाई नियन्त्रणमा लिँदै सुरक्षाको राम्रो र भरपर्दो प्रबन्ध मिलाएका थिए। जसका कारण दर्शकहरु ढुक्क भएर राम्रो सँग खेसारीलालको प्रस्तुति हेरेका थिए।

मेला समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवको निमन्त्रणा स्वीकार गरी खेसारीलाल दोस्रो पटक रौतहट आएका हुन्। यो भन्दा अघि मौलापुर मधानी महोत्सवमा पहिलो पटक खेसारीलाल रौतहट आएका थिए।

Leave a review

This will close in 0 seconds