सशस्त्र प्रहरीद्वारा बारामा लाखौं मूल्यका नागिन पटाका नष्ट

साझेदारी दैनिक
344 पाठक संख्या

कलैया । सशस्त्र प्रहरी बलले बाराको आदर्शकोतवाल गाउँपालिका–३ भटिनियाँमा लाखौँ मूल्यका नागिन पटाका बरामद गरी पोखरीमा नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश तेलकुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक संजय यादवको नेतृत्वमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले शुक्रबार भारतबाट अवैध रूपमा नेपाल भित्र्याइरहेको तीन वटा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याइएको नागिन पटाका बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार बि.आर ०५ ए ६९८७,बि.आर २२ ए.जेड ७२० र बि.आर ०५ ए.के १३०४ नम्बरको तीन वटा भारतीय मोटरसाइकल बरामद गरिएको छ ।

बरामद गरिएको पटाकाको मूल्य करिब २ लाख ५ हजार रुपैयाँ र तीनवटा मोटरसाइकलको मूल्य करिब ३ लाख रुपैयाँ गरी कुल ५ लाख ५ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार बरामद गरिएका पटाका सशस्त्र प्रहरी बल नम्बर १२ गणको हेड क्वाटरको परिसरभित्र रहेको पोखरीमा नष्ट गरिएको छ ।

तीन वटै मोटरसाइकलहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाउने तयारी भइरहेको एसपी केसीले जानकारी दिए ।