जीतपुर : विलविजक भन्दा बढि सामान सहित दुईवटा ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले झण्डै ६८ लाख मुल्य बराबरको दुईवटा ट्रक नियन्त्रणमा लिएको हो । बिल भरपाईभन्दा बढी तथा स्रोत खुलाउन नसकिएको विभिन्न सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगंज चोकमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट रूपन्देहीतर्फ जाँदै गरेको लु १ ख ९५१४ नम्बरको ट्रकलाई रोकी चेकजाँच गरेको थियो ।
उक्त ट्रकमा लोड गरेको ३१ लाख ८२ हजार ६० रूपैया बराबरको प्लास्टिक व्याग,औषधी,ईलाइची लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको हो ।
यस्तै जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको ना ५ ख ७०५२ नम्बरको ट्रकमा लोड गरेको ३६ लाख १३ हजार नौ सय ६९ रूपैया बराबरको हार्डवेयर,मोटर पोर्टस,डाईवेयर वाइल,कल्क लगाएत अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बरामद ६७ लाख ९६ हजार २९ रूपैयाँ बराबरको सामानसहित दुवै ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको र थप कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

