जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित डम्मरपुर जामुन डाडामा रहेको शुष्मा गलैचा उद्योगबाट ८ जना बालबालिकाको उद्धार गरिएको छ।
बाल हेल्पलाइन नेपाल मकवानपुरको सूचनाका आधारमा उनीहरुलाई उद्धार गरिएको हो ।उक्त उद्योगमा राक्सिराङ गाउँपालिका वडा नं. १, भुमीथली घर भएका सोमबहादुर बुलुनका १४ वर्षीय छोरा बालश्रममा संलग्न रहेको भन्ने सुचना जीतपुरसिमरा उपमहानगरपालिकामा आएको थियो ।
सूचनापछि उपमहानगरपालिकाको नगर प्रहरी बल,श्रम तथा रोजगार कार्यालय बीरगञ्जका प्रमुख,सिविन बाल हेल्पलाइन नेपाल मकवानपुरका प्रबन्धक र अन्य सरोकारवाला निकायहरूको टोलीले संयुक्त अनुगमन गरेको थियो।
अनुगमनका क्रममा उद्योग सञ्चालक स्थानीय मान बहादुर लोप्चनद्वारा सञ्चालन गरिएको उद्योगमा करिब ३५ जना कामदार कार्यरत रहेका थिए । तीमध्ये ८ जना बालबालिका रहेको पाइयो बुलुनले आफ्ना छोरालाई त्यहाँबाट उद्धार गर्न बुवा बुलुन जाँदा ठेकेदारले अवरोध पुर्याउँदै दुव्र्यवहार गरेको विवरण पनि सार्वजनिक भएको छ ।
२ बर्ष देखि काम गर्दै आएका बालबालिकाहरुलाई १५ घण्टा सम्म काममा लगाईदै आएको पाईएको छ । काममा लगाएबापत बालबालिकाको अभिभावकहरुलाई ठेक्दारले मासिक रुपमा ६ हजार देखि ९ हजारसम्म दिँदै आएको बालबालिकाहरु सुनेको बताउँछन् । बालबालिकाको अभिभावकहरुले ठेक्कदारसँग अग्रिम पैसा लिएको त्यो पैसाको भर्पाई बालबालिकाहरुले काम गरेर गर्ने गरेको पाईएको छ ।
उद्धार गरिएका बालबालिकालाई आवश्यक संरक्षण,मनोबिमर्श एवम पारिवारिक पुनर्मिलनकालागि सिविन नेपालद्धारा सञ्चालित बाल हेल्पलाईन मकवानपुरलाई जिम्मा दिएको उपमहानगरपालिकाको महिला,बालबालिका तथा ज्येष्ट नागिरक बिकाश शाखाका अधिकृत रमेश सुबेदीले जानकारी दिए । उद्धार गरिएका बालबालिका मध्ये ३ जना बालिका र ५ जना बालक रहेका छन् ।
उद्धार भएकाहरुमा ५ जना बारा निजगढ नगरपालिकाको लाल र डम्मरपुरका छन् भने ३ जना मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको वडा नं.१ र २ का रहेका छन् । उद्धार गरिएका बालबालिकाहरु १३ बर्ष देखि १७ बर्ष सम्मका रहेका छन् । उपमहानगरपालिकाले सिविन नेपालसँग सहकार्य गरी उद्धार गरिएका बालबालिकाको कानुनी न्याय प्रक्रियाकोलागि श्रम तथा रोजगार कार्यालय बिरगंजलाई जिम्मा लगाएको छ ।
उद्धार टोलीमा महिला,बालबालिका तथा ज्येष्ट नागिरक बिकाश शाखाका अधिकृत रमेश सुबेदी,श्रम तथा रोजगार कार्यालय वीरगंजका प्रमुख बलराम कुश्वाहा,सिविन बाल हेल्पलाइन नेपाल मकवानपुरका प्रबन्धक झवेन्द्र ज्ञवाली,कार्यक्रम अधिकृत सम्झना अधिकारी,नगर प्रहरी ईन्चार्ज रबिन खड्का लगायतको सहभागिता रहेको थियो ।


