वीरगन्ज : पछिल्लो केही दिनदेखि बढेको चिसोले मधेश प्रदेशको जनजीवन प्रभावित भएको छ।
पर्साको सदरमुकाम वीरगञ्ज देखि ग्रामीण भेगको जनजीवन चिसोले प्रभावित भएको हो। बढदो चिसोले मानिसहरुलाई बिहान बेलुका घर बाहिर निस्कन अप्ठेरो भएको छ। चिसो र कुहिरोका कारण बिहान बेलुका बजारमा मानिसहरूको चहलपहलमा कमि आएकोछ।
चिसोले गर्दा बिशेष गरि दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरु प्रभावित भएका छन् ।बिहान बेलुका लाग्ने हुस्सुका कारण वीरगञ्जमा विहान बेलुका मानिसहरुको चहलपहलमा कमि आएको छ। रिक्सा ठेला चालकहरुलाई काम गर्न अप्ठेरो भएको छ।
बाक्लो कुहिरो दिउँसो सम्म नै रहने गरेकाले पर्सा सहित मधेसका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ। चिसोका कारणले बितेको दुई दिनदेखि भने दिनभरी नै जाडो महसुस भइरहेको स्थानीयले बताएका छन्। चिसोबाट बच्न मधेसका मानिस हरु घुर ताप्न थालेका छन्।
चिसोबाट बच्नको लागि सम्पन्न परिवारदेखि बिपन्न सम्मकाले मधेसमा घुरको आगो ताप्ने गरेका छन्। बालबालिका देखी,युवा,वृद्धसम्मलाई चिसोले प्रभावित पारेको वीरगञ्ज महानगरपालिका–२७ का स्थानीय जयनाथ महतोले साझेदारी दैनिकलाई बताए ।
चिसोका बिहान बेलुका घरबाट बाहिर निस्कन समेत समस्या हुने गरेको उनले बताए। चिसोले गर्दा स– साना स्कुले बालबालिकाहरुको पठनपाठनमा असर परेको महतोको भनाइ छ। बिहान एकदमै बाक्लो कुहिरो लागेका कारण नजिकैको बस्तुसमेत हेर्नमा कठिनाइ भइरहेको सवारी चालकहरुले बताएका छन्।
बाक्लो हुस्सु लाग्न थालेकाले बिहानको मौसममा सवारी चलाउन समस्या हुने गरेको चालकहरु बताउँछन्।चिसो बढेकोले यस्तो मौसममा सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् । रुघाखोकी,ज्वरो,दम,रक्तचाप लगायतका बिरामीहरुले बिशेष सावधानी अपनाउनुपर्ने चिकित्सकहरुको भनाइ रहेको छ।

