रौतहट : करण कुमार मिश्र/रौतहट जिल्लाको गरुडा नगरपालिका–१ जयनगर स्थित राम जानकी मठमा प्राण प्रतिष्ठाको शुभदिनको सम्झनामा हुने अष्टयाम,यज्ञ शुरु भएको छ ।
भारतको अयोध्यामा रामको गतवर्ष भएको प्राणप्रतिष्ठाको अवसर पारेर रौतहटका अधिकांश रामजानकी मठमा भजनकिर्तन,रामधुन,अष्टयाम तथा महायज्ञको अनुष्ठान गरिएको हो ।
अष्टयाम,यज्ञको लागि मंगलबार १५१ कुमारी कन्याद्वारा भव्य कलश सोभा यात्रा निकालिएको छ । सो कलश सोभा यात्रामा श्रद्धालुहरुले “एक हि नारा एक हि नाम जय श्री राम जय श्री राम“को नारा लगाउदै बाजा गाजासहित जयनगरका सम्पुर्ण गाउँ बासीहरुले सामूहिक रूपमा राम जानकी मठदेखि धार्मिक नगरी शिवनगर झाझ नदिमा जल लिन पुगेको आयोजकले बताए ।
त्यस्तै गरुडा नगरपालिका–५ शिवनगर गाउँ बासी र सोही पालिकाको वडा नं–६ स्थित पोठियाहीका राम मन्दिरहरुमा पनि प्राणप्रतिष्ठाको वार्षिकोत्सवको खुसीयालीमा भजन किर्तन,रामधुन,अष्टयाम तथा महायज्ञको अनुष्ठान गरिएको स्थानीय सिकिन्द्र चौधरीले जानकारी दिए ।
यसैगरी हिन्दु धर्मावलम्बीले रौतहटलगायत बारा,पर्सा,सर्लाही,महोत्तरी,धनुषा,सिरहा,सप्तरी र छिमेकीमुलुक भारतको विहार राज्यका विभिन्न ठाउँमा प्राण प्रतिष्ठा वार्षिकोत्सवको अवसर पारेर मठ मन्दिर आकर्षक ढङ्गले सजाइएको छ ।

