रौतहट :करण कुमार मिश्र/ चिसो बढेर जनजीवन अत्यधिकप्रभावित बनेपछि गरुडा नगरपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण शुरु गरेको छ।
दोस्रो चरणको राहत स्वरूप नगरपालिकाले कम्बल (सिरक) वितरण सुरु गरेको हो।
केही दिन यता बढेको कठ्याङ्ग्रिँदो चिसोले गर्दा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी समस्यामा परेकाले गरिब,असहाय र विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले नगरपालिकाको वडा नं–१ जयनगरमा १४० जन ाविपन्न ज्येष्ठ नागरिकलाई बिहीबार कम्बल वितरण गरेको सो वडाका अध्यक्ष शेख वहाबले जानकारी दिएका छन् ।
नगर प्रमुख जयसवालले विपन्नमा पनि अतिविपन्न ज्येष्ठ नागरिकलाई जाडोमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताए ।
वडा १ का वडाध्यक्ष शेख वहाबले चिसोमा आवश्यकताको पहिचान गरेर वडाका अति विपन्न ज्येष्ठ नागरिकको छनौट गरी न्यानो कपडा प्रदानगरिएको जानकारी दिए।
वडाले पहिचान गरेका गरिबमा पनि अति गरिब ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन केही हदसम्म सहजहोस् भन्ने उद्देश्यले पालिकाले सहयोग गरेको उनले बताए।
अत्यधिक चिसोका कारण समस्यामा परेका विपन्न ज्येष्ठ नागरिकले न्यानो कम्बल पाउँदा खुसी व्यक्त गरेका छन्। वडा नम्बर १ का अति विपन्न७४ वर्षीया एक वृद्ध महिलाले कम्बल पाएपछि नयाँ जीवनपाएको अनुभूति भएको प्रतिक्रिया दिइन् ।
न्यानो लुगा नहुँदा चिसोले रातभरि निन्द्रा नपर्ने अवस्था रहेका बेला यो कम्बल पाएकाले अब आरामले सुत्न पाइने बताइन्।
नगरमा यस अघिनै १२०० बढी जना विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिसकेको नगरपालिकाको जिन्सी शाखाप्रमुख रामानन्द सहनीले जानकारी दिए।


