बारा : बाराको जीतपुरको शान्ति टोलबाट १० दिनदेखि हराइरहेका तीन वर्षीय बालकको शव खोलामा तैरिरहेको अवस्थामा फेला परेको छ।
घर भन्दा करिब तीन सय मिटरको दुरीमा रहेको गाउँ नजिकको सियासोती खोलामा बालक अंश जयसवालको शव शनिबर फेला परेको इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक शुभद्रा वाइबाले बताइन्।
यही माघ १७ मा बालक स्कुले बालबालिकाको पछि घरबाट निस्केका थिए। बालकको शव खोलामा घोप्टो परेको अवस्थामा फेला परेको उनले बताइन्।
रौतहटको दुर्गा भवानी गाउँपालिका वडा नं।१ घर भई बालक जितपुरमा मावलीमा बस्दै आएका थिए। बालकका बुवा रितेश जयसवाल सामान्य परिवारका हुन्।
पत्नी सुत्केरी भएकाले छोरालाई ससुरालीमा छाडेको उनले बताए। बच्चा हराएको सम्बन्धमा संसदमा समेत कुरा उठेको थियो।
यता तीन वर्षीय बालक अंश जयसवालको पोष्टमार्टमपछि धार्मिक बिधि अनुसार जीतपुरमा अन्त्येष्टि गरिएको छ।

