सिमरा : गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ ।
मंगलबार बाराको सिमरा स्थित होटेल पराडाईजमा पत्रकार सम्मेलनको आयोजना गरेर भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक गरिएको छ । रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुतिमा तयार भएको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ । विशेष गरी भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक गरिएको गीतले प्रेमिल मनहरूमा विशेष प्रभाव पार्ने विश्वास गरिएको छ ।
यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् ।
छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेका हुन् ।गीतको निर्माण निर कुमारी विश्वकर्मा ‘सविना’ले गरेकी हुन् । एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद (भारत)ले गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको सहभागिता छ ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान बाराका प्रथम उपाध्यक्ष लक्ष्मीकान्त प्यारेलालले भोजपुरी गीत प्राय परिवार संग बसेर हेर्न या सुन्ने खालको नरहेको भए पनि भोजपुरी गीत ‘दे दन प्यार गोरी’ परिवार संग बसेर हेर्न र सुन्न मिल्ने बताए । गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को युट्युब च्यानलमा हेर्न सकिन्छ ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान बाराका अध्यक्ष देबेन्द्र कार्कीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनको प्रमुख अतिथी रुद्रसेन प्रोडक्सनका संचालक रुद्रसेन बिश्वकर्माको प्रमुख अतिथ्यता रहेको थियो भने कार्यक्रमको सहजीकरण सन्चारकर्मी प्रदीप गौतमले गरेको थिए ।

