रौतहट : करणकुमार मिश्र / महाशिवरात्रीको अवसरमा रौतहटको प्रसिद्ध धार्मिकस्थलमा लाखौको भिड ओर्लिएको छ।
शिवनगर महादेव मन्दिरमा जल चढाउने दर्शनाथीको भिड गतवर्ष भन्दा निकै बढी रहेको हो।
विगतका वर्षझै यस पटक पनि जिल्लाको प्रसिद्ध ठाँउ शिवनगर महादेव मन्दिरमा हजारौं कमरथुवाले जल चढाएका हुन्। बारा,रौतहट,सर्लाही र पर्साबाट आएका हजारौं महिला पुरुष लगायत लाखौं भक्तजनहरुले बिहानै देखी जलार्पण गर्न लामबद्ध भएका हुन्। शिवालयहरुमा पूजा गर्न जाने भक्तालुहरूमा अधिकांश महिला रहेका हुन्।
लम्हा नदी किनारस्थित शिवनगरको शिव मन्दिर रौतहटकै प्रसिद्ध धार्मिक स्थल मध्ये एक हो। यो शिवालय वर्षाैदेखि भक्तजनको लागि आकर्षणको केन्द्र बन्दै गएको छ।
त्यसैगरी महाशिवरात्रिका दिन तथा साउने सोमबार लगायत हरेक आइतबार र अन्य चाडपर्वमा समेत मन्दिर दर्शन गर्ने दर्शनार्थीको घुइँचो लाग्ने गर्छ। विशेष गरी महाशिवरात्री पर्वको दिन शिवनगरको शिव मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्नका लागि रौतहटसहित छिमेकी देश भारतको बिहारदेखि मानिसहरू दर्शन गर्नका लागि आउने गरेका छन्।
शिवनगरको मेलामा स्वास्थ्य शिबिर तथा दर्शनार्थीको लागि शुद्ध खानेपानी र प्याक पर्ने ठाउमा शौचालयको समेत प्रबन्ध मिलाएको नगरप्रमुख जयसवालले बताए ।
मेलालाई शान्ति सुरक्षा दिनको लागि दुधियाभार,देवाही गोनाही र समनपुर बेसकैम्पका सशस्त्र प्रहरी र ईप्रका शिवनगर र ईप्रका गरुडाका समेत प्रहरीहरुले शान्ति सुरक्षा प्रदान गरेका थिए।

