कमलामाई (सिन्धुली) । सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् ।
झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२–००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय,सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ५२ वर्षीया विष्णुमाया लालचन,५६ वर्षीया यमकुमारी हिराचन,५८ वर्षीया पदमकुमारी जुवारचन,३० वर्षीया हानानी जुवारचन,१६ वर्षीया हास्मी जुवारचन,६२ वर्षीय जनकलाल हिराचन,५६ वर्षीय शक्तीलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन् ।
प्रहरी उपरीक्षक काफ्लेका अनुसार घाइतेको अवस्था खतरामुक्त छ र उहाँहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
सवारी चालक,सिन्धुलीको कमलामाई नगरपालिका–७,रामपुर निवासी २४ वर्षीय सुजन बल भने सकुशल रहेका छन् ।
घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा गाडी तीव्र गतिमा रहेको र त्यसकै कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।
सवारी चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए

