बलात्कार घटना मिलाउन गएका दुई वडाध्यक्ष दिनभर प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
1.5k पाठक संख्या

कलैया : जबरजस्ती करणीकोे घटना मिलाउन सक्रिय रहेका दुई जना वडा अध्यक्षलाई दिनभरी जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ। पीडितलाई दबाब दिँदै पीडकलाई उन्मुक्ति दिन तथा बलात्कारको घटना मिलापत्र गराउन पीडितहरुलाई दवाब दिएको आरोपमा प्रहरीले बिहीबार उनीहरुलाई दिनभरी नियन्त्रणमा लिएको हो।

प्रहरीले सिम्रौनगढ नगरपालिका– ३ का वडा अध्यक्ष ऐजुउल्लाह अन्सारी र बारागढी गाउँपालिका ६ का कार्यवाहक वडाध्यक्ष रामेश्वर पंडितलाई दिनभरी नियन्त्रणमा राखेर हाजिर जवानीमा छोडेको प्रहरी श्रोतले जनाएको छ। सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ का एक टोलमा जेठ २४ गते १४ वर्षीया बालिकालाई २० वर्षीय बालकले जबरजस्ती करणी गरेको स्थानीयको भनाई रहेको छ।

धार्मिक कार्यक्रम भएका दिन परिवारका सदस्यहरु छिमेकीको घरमा खाना खान गएका समय घरमा एक्लै रहेकी ती बालिकमाथि जबरजस्ती भएको उनीहरुको भनाइ छ। टोलमै सम्पन्न परिवारका सदस्य रहेका ती युवाबाट रकम लिएर वडाध्यक्षले गाउँमै मिलापत्र गराउन प्रयास गरेको आरोप स्थानीयको रहेको छ। पीडितको परिवारलाई मिलाउन उनले दिनहुँ दवाव दिने गरेको स्थानीयको भनाइ छ।

पीडित नाबालिकका परिवारलाई वडाध्यक्ष मार्फत् दवाव दिलाएर मिलापत्र गर्न लगाउने खेलमा वडा अध्यक्ष लागेको दावी ति स्थानीयले गरे। त्यस्को साटो जबरजस्ती करणी गर्ने युवाको परिवारबाट दुई लाख ५० हजार जरिवाना गराउने सहमति प्रयास वडाध्यक्ष लगायतबाट भएको पाइएको छ। युवाको परिवारबाट प्राप्त हुने रकममध्ये पीडित बालिकाको परिवारलाई ८० हजार रुपैयाँ दिने र बाँकी आपसमा बाँडेर खाने प्रपञ्चमा उनले काम गरेको जनाइएको छ।

जनप्रतिनिधिबाटै भएको यसप्रकारको कुकर्मप्रति पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएपछि प्रहरीले वडाध्यक्ष मियाँलाई दिनभर नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी श्रोतले जनाएको छ।

उजुरीका आधारमा थप अनुसन्धान गर्दा जबरजस्ती करणी गर्ने युवकसहित सम्पूर्ण परिवार भने फरार भएका छन्। वडाध्यक्षलाई भने बलात्कारमा संलग्न युवकसहित सम्पूर्ण दोषीलाई उपस्थित गराउने गरी हाजिर जवानीमा छोडिएको छ। बारागढी गाउँपालिका वडा नम्बर ६ का कार्यवाहक वडाध्यक्ष रामेश्वर पंडितले पनि शाररिक अशक्तता भएकी एक महिलालाई जबरजस्ती करणी गर्नेलाई बचाउन पीडित परिवारलाई दवाव दिइरहेको आरोप लागेको छ।

महिलाको परिवारले घटनाबारे प्रहरीलाई उजूरी दिएपछि कार्यवाहक वडाध्यक्ष पंडितलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। उनलाई पनि प्रहरीले हाजिरी जवानीमा छोडेको छ।
आवश्यक परेको समयमा उपस्थित हुने सर्तमा प्रहरीले उनीहरुलाई हाजिर जमानीमा छोडिएको हो। अनुसन्धानबाट दोषी पाइए जनप्रतिनिधिमात्र नभइ जोकोहीलाई पनि कारबाही गर्ने प्रहरीले प्रतिबद्धता जनाएको छ।

Leave a review