चन्द्रपुर (रौतहट) : रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो ।
सो अस्पताललाई मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो ।
उक्त पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण सोमबार साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । पत्रको अवज्ञा गरेर अस्पताल सञ्चालन गरेको कारण उनलाई पक्राउ गरेको डिएसपी राईले बताउनुभयो ।
मुख्यमन्त्री सिंहले गत शनिबार चन्द्रनिगापुरको ११ वटा निजी अस्पतालको अनुगमन गर्नुभएको थियो । जसमा १० वटा अस्पताल दर्ता नभएको भेटिएको थियो ।
एघार वटामध्ये चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो ।
मुख्यमन्त्री सिंहसहितले अनुगमन गरेको हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि,सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर,पब्लिक लाइफ केयर पोलिक्लिनिक,एपोलो सिटी अस्पताल,चपुरसिटी अस्पताल, हिमालय पोलीक्लिनिक,चन्द्रपुर,सामुदायिक अस्पताल,नमस्ते डेन्टल क्लिनिक,चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्र अहिले बन्द अवस्थामा रहेको डिएसपी राईले जानकारी दिनुभयो ।

