एन. प्याब्सन जीतपुरसिमराद्वारा अतिरिक्त क्रियाकलाप समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

रञ्जन यादव
283 पाठक संख्या

बारा : एन. प्याब्सन जीतपुरसिमराले शैक्षिक सत्र २०८१ मा आयोजना गरिएका अतिरिक्त क्रियाकलापहरूको समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

प्याब्सनको शैक्षिक क्यालेन्डर अनुसार विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने विद्यालयहरूलाई सम्मान गरिएको छ।बर्षभरि १४ वटा विभिन्न प्रतियोगिताहरू सञ्चालन भएका थिए।

जसअन्तर्गत हाजिरीजवाफ,नेपाली हिज्जे,क्रिकेट,वक्तृत्वकला,स्पेलिङ्ग,चेस,तीज नृत्य,केटा तथा केटी भलिबल,केटा तथा केटी फुटबल,यङ्ग माइन्डस जस्ता प्रतियोगिताहरू समावेश थिए।

कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले विद्यार्थीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुले उनीहरूको शैक्षिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।

साथै, यस्ता गतिविधिहरूले नगर हुँदै देशको नाम समेत उच्च बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे। अधिकारीले शिक्षा क्षेत्रलाई नगरपालिकाले गम्भीरताका साथ अगाडि बढाइरहेको बताए।

एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयका कक्षाहरू वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। साथै संस्थागत विद्यालयलाई शत्रुका रूपमा नहेरी मित्रका रूपमा लिएर सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।

संस्थागत विद्यालयहरूको योगदानको सम्मान गर्दै उचित कार्यको प्रशंसा गर्ने संस्कारको विकास आवश्यक रहेको उनले उल्लेख गरे।कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक किशोर श्रेष्ठले गरेका थिए ।

त्यस्तै आईतबार भएको हाजरीजवाफ प्रतियोगितामा एकता स्कुलका अर्जुन पोख्रेल र सम्मान अधिकारी प्रथम,पाथीभारा ई.बो.स्कुलका सन्देश घिमिरे र आयुष कर्ण द्वितीय र अक्षरा पाठशालाका मंजिता ढकाल र कुशल लामिछाने तृतीय भएका थिए।

Leave a review