होली पर्वमा भयो खशीको मासुको अभाव

साझेदारी दैनिक
537 पाठक संख्या

कलैया : होली पर्वमा बाराको कलैया बजार लगायत जिल्लाको गाउँ गाउँमा खशीको मासुको अभाव भएको छ ।

ग्राहकहरुको माग अनुसार खशीको मासु आपूर्ति गर्न नसकिएको मासु ब्यवसायी संघ बारा कलैयाका अध्यक्ष शेष भोला मियाले जानकारी दिएका छन्।

कलैया बजारमा शुक्रबार बिहानै देखि नै मासु पसलमा ग्राहकहरुको अत्याधिक भिड बढेको उनले बताए। घण्टौ लाईनमा बसेर समेत मासु नपाउदा ग्राहकहरु निराश भएर फर्किएको उनले बताए।

यस वर्ष पनि होली पर्वमा मासुको भाउ नबढाई रु एक हजार रुपैयाँ प्रति किलो मासुको मूल्य कायम गरिएको मियाले बताए। उनले प्रति किलो रु एक हजार दुई सय रुपैयामा खशी किनेर एक हजार रुपैया प्रतिकिलो मासु बिक्री गरिएको बताए।

कति मासु पसलमा मासु नपाउदा ग्राहक र मासु ब्यवसायी बीच झै झगडा समेत भएको एक प्रत्यक्षदर्शीले बताएका छन्। यस वर्ष परेको श्री गढीमाई पञ्चवर्षीय मेलामा बोकाको बलि दिईएकाले मासुको अभाव भएको अध्यक्ष मियाको भनाई रहेको छ।

गढीमाई मेलालाई मध्य नजरगरी किसानहरुले बढी बोका पालेकाले समेत होलीमा मासुको अभाव भएको हो।

खशीको मासु नपाउदा ग्राहकहरु कुखुराको मासु र माछा किनेर घर लगेका थिए। उनले ग्राहकहरुलाई शुक्रबार बिहानै मासु खरिद गर्नका लागि आग्रह समेत गरेका थिए।

Leave a review

This will close in 0 seconds