मुख्यमन्त्री सिंहद्वारा जनकपुरका होटल अनुगमन

रासस
537 पाठक संख्या

महेन्द्रनगर (धनुषा) : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका होटलको अनुगमन गर्नुभएको छ । यहाँका केही होटलमा सफा,तथा स्वस्थ खाना उपलब्ध नहुने गुनासाका आधारमा मुख्यमन्त्री सिंहले आज होटल अनुगमन गर्नुभएको हो ।

प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिंहले जनकपुरधामस्थित होटल जानकी भ्यू,हंसराज स्वीट,लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गर्नुभयो ।

सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन,वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । उहाँले होटल अनुगमनलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने जानकारी दिनुभयो ।

अनुगमनका क्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्सा कोठालाई सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ ।

साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहका अनुसार हंसराज स्वीटबाट उत्पादकको नाउँ,उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट मम जफत गरी नष्ट गरिएको छ । न्यू जानकी भ्यू होटल र लक्ष्मी मिष्ठान्न भण्डारबाट अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ ।

Leave a review

This will close in 0 seconds