रौतहट : ओम प्रकाश यादव / रौतहटको गरुडा नगरपालिका – ८ जिंगडियामा जामे मस्जिद भवनको शिलान्यास गरिएको छ।
एक विशेष समारोहकाबीच गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले विधिवत रूपमा मंगलबार मस्जिद भवनको शिलान्यास गरेका हुन्।
एक करोड ३८ लाख रुपैयाँको लागतमा जिंगडियामा अत्याधुनिक एवं सुविधा सम्पन्न जामे मस्जिद भवन बन्ने भएको हो।
नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले मस्जिद भवनको निर्माण कार्य छिट्टै प्रारम्भ भई निर्धारित समयभित्रै सम्पन्न गरिने बताए।
यो मस्जिद भवन ईस्लाम धर्मावलम्बीहरूको धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई सहज बनाउन महत्वपूर्ण एवं उपयोगी हुने विश्वास लिइएको उनको कथन थियो।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख जयसवालले गरुडा नगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण जातजाति,धर्म,वर्ग,तथा समुदायको समान हक अधिकार सुनिश्चित गर्दै आम जनताको चाहना अनुसार काम गरी अघि बढिरहेको जानकारी दिए।
नगरपालिकाले सबै नागरिकको धार्मिक तथा सामाजिक आवश्यकतालाई ध्यानमा राखेर कार्य गरिरहेको उनले स्पष्ट गरे। सबै समुदाय समान छन्, सबैको हक बराबर छ र विकासको अधिकार सबैको हो,“ उनको कथन थियो।
गरुडा नगर प्रमुख जयसवालको प्रमुख आतिथ्य तथा जामे मस्जिदका अध्यक्ष कौशर खान मिथिलाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि,मुस्लिम समुदायका अगुवा,सामाजिक अभियन्ता तथा नगरवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

