पुनःस्थापना केन्द्रमा मण्डल हत्या प्रकरणः सञ्चालक मंसुर तीन लाख धरौटीमा छुटे

साझेदारी दैनिक
1.3k पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका–१ बैंक रोडमा रहेको नवजन्म पुनःस्थापना केन्द्र सुधारमा कुटपिटबाट मृत्यु भएका धीरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको मृत्यु प्रकरणमा केन्द्रका सञ्चालक साहेबबाबू मंसुर धरौटीमा छुटेका छन्।

जिल्ला अदालत बाराका १ नम्बर इजलासका माननीय न्यायाधीश कोमलप्रसाद आचार्यले मण्डलको मृत्यु प्रकरणमा केन्द्रका संचालक मंसुरलाई तीन लाख रुपैयाँ धरौटीमा छाडने आदेश दिएको अदालतका सूचना अधिकारी कृष्णकुमार साहले जानकारी दिए।

मंसुर माथि ज्यान सम्बन्धी कसूर ज्यान मुद्दामा धरौटीमा छाडिएको हो।उक्त केन्द्रका सञ्चालक मंसुर आफै बिहिबार जिल्ला अदालत बारामा झन्डै दुई महिनापछी हाजिर भएका थिए।

उनी घटना भएपछि फरार भएका थिए। घटनाको मुख्य आरोपीहरु सुधार केन्द्रका सञ्चालक मंसुरका भाई साहिल अली,सुरज साह र राहुल साह भने अझ फरार रहेका छन्।

पक्राउ परेका सात जनामध्ये ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। गत फागुन २८ गते बुधबार पुनःस्थापना केन्द्र सञ्चालक परिवारका सदस्य २९ वर्षीय तमन्ना मंसुर दुई लाख ५० हजार धरौटीमा रिहा भएका थिए।

उक्त मुद्दामा कलैया उपमहानगरपालिका–१ का २४ वर्षीय अरूण सर्राफ,१९ वर्षीय सागर गुप्ता,वडा २ का २१ वर्षीय परमेश्वर साह,३ का १९ वर्षीय सरफराज मंसुरी,वडा ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं ६ का २० वर्षीय महम्मद आँसु मियाँ पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

सुधार केन्द्रमा भर्ना भएको दुई साता नबित्दै कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका ३७ वर्षीय धीरेन्द्र भन्ने प्रदीप्रसाद मण्डलले शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदाता सहितले कुटपिट गरेका थिए। कुटपिटबाट उनको मृत्यु भएको थियो।

प्रदीपले अनुशासन भंग गरेको भन्दै निलडाम गराउन खोज्दा उनले नमानेपछि कुटपिट गरिएको सीसीटिभीको फुटेज भाइरल भएको थियो। सुधार केन्द्र काठमाडौंमा दर्ता भई शाखाको रुपमा विस्तार गरी सञ्चालन गरिएको थियो।

Leave a review

This will close in 0 seconds