पर्सा : पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ८ हरपुर टोलबाट वन गस्ती टोलीले अवैध रुपमा चिरान भइरहेको दुई थान सालको गोलिया बरामद गरेको छ ।
सब डिभिजन वन कार्यालय बडनिहारका जमदार जितबहादुर तमाङ्गको नेतृत्वमा खटिएको वन गस्ती टोली र बिन्दबासिनी कोईलाभार साझेदारी वनको संयुक्त गस्ती टोलीले काठ बरामद गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिएका छन ।
विशेष सूचनाको आधारमा गएको टोलीले हरपुर स्थित एक घरको बारीमा लुकाई छिपाई राखिएको अवस्थामा ११ क्युफिट सालको काठ बरामद गरेको हो। काठ चिरानमा संलग्न व्यक्तिहरू वन गस्ती टोलीलाई देखेपछि फरार भएका छन् ।
डिभिजनल बन अधिकृत अहमदका अनुसार यस बिषयमा थप अनुसन्धान भईरहेको जानकारी दिए । बरामद काठलाई बडनिहार सब डिभिजन बन कार्यालयको प्राङ्गनमा राखिएको छ ।

