उजूरी सूचना भएकोले आत्तिनु हुँदैन – अख्तियार हेटौडा प्रमुख आचार्य

साझेदारी दैनिक
405 पाठक संख्या

रौतहट :ओम प्रकाश यादव / अख्तियारमा उजुरी पर्दैमा आत्तिनु नपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख उमाकान्त आचार्यले बताएका छन्।

रौतहटको गरुडा स्थित कलवार धर्मशालामा शुक्रबार आयोजित एकदिने सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहको भूमिका विषयक कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताएका हुन्।

गरुडा नगरपालिका कार्यालयको सहकार्य,जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजन र तराई विकास तथा सञ्चार नेपाल काठमाण्डौको आयोजनामा सो कार्यक्रम भएको हो।

कुनै पनि विकास निर्माण लगायत कामबारे अख्तियारमा उजूरी पर्दैमा कोही दोषी नहुने उनले बताए। अख्तियारमा उजुरी पर्दैमा आत्तिनुपर्ने अवस्था नरहेको उनले बताएका छन् ।

अख्तियारमा उजुरी परेपछि अख्तियारले अनुसन्धानका लागि उजुरी संग सम्बन्धित व्यक्तिलाई बोलाएर बयान लिने गरेको उनले जनाए। सबैको बयान सकेपछि तथ्यगत प्रमाणको आधारमा मात्र विशेष अदालतमा मुद्दा दायर गर्ने गरिएको उनले प्रष्ट पारे। एजूरी सूचनाको रूपमा मात्र रहनेगरेकोले यसलाई मुद्दाको रूपमा नलिन उनले आग्रह गरे।

अख्तियारले अनुसन्धानको क्रममा उजुरी संग सम्बन्धित कागजातहरू माग्दा धेरै स्थानीय तह र अन्य सरकारी कार्यालयहरुले ढिलासुस्ती गर्ने गरेको उनले गुनासो गरे। अख्तियारले कागजात माग्ने बित्तिकै तुरुन्त उपलब्ध गराउने तिर ध्यान दिनुपर्ने बताए ।

जति छिटो कागजात पठाए त्यति छिटो नै उजुरीको किनारा लाग्ने अर्थात फछ्र्यौट हुने भएकोले अख्तियारलाई मागेकै बेला आवश्यक कागजात उपलब्ध गराई अनुसन्धान कार्यमा सघाउन उनले आग्रह गरे ।

अख्तियारले नियतबस जानी जानी दुःख दियो भनी धेरैले भन्ने गरेको भन्दै उनले अख्तियारले नियतबस बिना गल्तीको कसैलाई दुःख दिने काम नगरेको समेत उनले जनाए।
अनुसन्धान पछि अख्तियारले एक्लैले चाहेमा मुद्दा नचल्ने उनको भनाई थियो।

कुनै विषयमा मुद्दा दायर गर्नुभन्दा अघि सरकारी वकिल लगाएत अन्य सरोकारवालाहरु संग राय सल्लाह लिने गरिएको उनले जनाए। मुद्दा चलाउन उनीहरु सहमत भएपछि मात्र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको उनले सुनाए।

जनप्रतिनिधी र कर्मचारीहरु आ–आफ्नो कार्य प्रति पूर्ण वफादार,उत्तरदायी एवं जिम्मेवार भई इमान्दारीका साथ पारदर्शी ढंगले काम गर्न उनले आग्रह गरे। यसो भएमा भ्रष्टाचार आफैं समाप्त भएर जाने तथा सुशासन कायम हुने उनले बताए।

पछिलो समय भष्टाचार भन्दा पनि व्यक्तिगत एवं राजनीतिक प्रतिशोध साध्ने नियतले अख्तियारमा उजुरी दिनेहरुको संख्या बढेको उनले बताए ।

उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐतिहासिक पृष्ठभूमी,संवैधानिक,कानुनी तथा संरचनागत व्यवस्था,संस्थागत रणनीति,भ्रष्टाचारजन्य कसुरहरुको बारेमा जानकारी दिइएको थियो।

आयोगको छानवीन तथा अनुसन्धान प्रकृयाहरु,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गतिविधिहरु,नेपालमा भ्रष्टाचारको वर्तमान अवस्था,अनुसन्धान तथा छानवीनका क्रममा आइपर्ने समस्याहरु तथा चुनौतीहरु जस्ता विषयवस्तुहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले रौतहट जिल्लामा सुशासन प्रर्वद्धनको लागि सरोकारवालाहरुसँग समय समयमा छलफल तथा सर्वपक्षीय वैठक सञ्चालन हुँदै आइरहेको जनाए। भ्रष्टाचार नियन्त्रणको कार्यमा आफूहरुले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

जनताको इच्छा,आकांक्षा र चाहना पूरा नभएको अवस्थामा अख्तियारमा उजुरी पर्नु स्वभाविक रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी खड्काले जनताको चाहना र इच्छा आकांक्षा अनुसारको काम गरी अख्तियारको कार्यवाहीबाट जोगिनेतर्फ ध्यान दिन जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए।

कहिलेकाही प्रतिशोधको कारणले पनि उजुरी दिँदा विकास निर्माणका कार्यहरुमा बाधा पुग्ने गरेको उनले जनाए। आयोगले गर्ने यस्ता कार्यक्रमले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो। आयोगले भ्रष्टाचार नियन्त्रणमा माथिदेखि तलसम्म निगरानी बढाउनुपर्ने समेत उनले सुझाव दिए।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा सहभागि भएका महालेखा परीक्षकको कार्यालय काठमाडौंका सचिव पदमराज पौडेल रहेका थिए। सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा प्रवद्र्धनात्मका,निरोधात्मक तथा दण्डात्मक कार्यहरु गर्दै आइरहेको बताउँदै भ्रष्टाचारलाई समाजको रोगको संज्ञा दिएका थिए।

स्थानीय तहले सार्वजनिक खरिदका कार्यहरु गर्दा आफै कानून बनाएर होइन की संघीय सार्वजनिक खरिद ऐन अन्तरगत रहेर कार्य गर्न निर्देशन दिँदै सुशासन प्रवद्र्धनको लागि सेवा प्रवाहमा पारदर्शिता,जवाफदेहीता र सदाचारको जस्ता तत्वहरुको आवश्यकता रहेको बताए ।

तराई विकास तथा सञ्चार केन्द्र काठमाण्डौका अध्यक्ष गोविन्द चौलागाईले सुशासन प्रवद्र्धनमा रौतहट जिल्ला स्थीत सम्पूर्ण स्थानीय तहका प्रमुख तथा कार्यालय प्रमुखहरुसँग सहकार्यको अपेक्षा राख्दै कार्यक्रमको समापन गरेका थिए।

कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कलवार,गौर नगरपालिका नगर प्रमुख शम्भु साह, बौधिमाई नगरपालिका नगर प्रमुख प्रदीप यादव,राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवको विशेष सहभागिता रहेको थियो।

पालिकाका प्रमुख तथा उप प्रमुखको सो कार्यक्रममा सहभागिता थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक एसपी दिलीप घिमिरे,रौतहटका सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर थापा,अनुसन्धान विभाग रौतहटका प्रमुख अभिनय कुमार सिंह,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका डिएसपी राजीव श्रेष्ठ,इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्की,विभिन्न स्थानीय तहका प्रशासकीय अधिकृत,अन्य कर्मचारी लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन साहित्यकार सञ्जय साह मित्रको थियो ।

Leave a review

This will close in 0 seconds