सहिदको सालिक राख्ने विषयमा बसेको सर्वदलीय बैठक निष्कर्ष विहीन

साझेदारी दैनिक
456 पाठक संख्या

रौतहट : ओमप्रकाश यादव/रौतहटको मधेशी सहिदको सालिक निर्माण गर्ने बारेमा शनिबार बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ।

गरुडाको सुमिन्त्रा पार्टी प्यालेसमा भएको सो बैठक निष्कर्षविहीन भएको हो। गौरमा नवनिर्मित घण्टाघरस्थित मधेशी सहिदको शालिक राख्ने प्रस्ताव सहित सो सर्वदलीय बैठक बसेको हो।

मधेशी मोर्चा र नेपाली कांग्रेस,नेकपा एस लगायत दलका नेताहरुबीच बैठक बसेको हो। गौर नगरपालिकाले गौरको बिपी चोकमा बिपी कोइरालाको सालिक सहित घण्टाघर निर्माण गरेको छ। मधेशी सहिदको सालिक निर्माण गर्नुपर्ने माग मधेशी मोर्चाले गरेको छ।

गौर नगर प्रमुख शम्भु साहले मधेशी सहिदको सालिक बिनाको घण्टाघर उद्घाटन गर्ने भनेपछि मधेशी मोर्चाले मधेशी सहिदको सालिक बिनाको घण्टाघर कुनै हालतमा उद्घाटन गर्न नदिने अडान लिएको छ। यसपछि विवाद चुलिएको छ।

गौर नगर प्रमुख साहले मधेशी सहिदको सालिक निर्माण नगरी बिपी कोइरालाको सालिक सहितको घण्टाघरको उद्घाटन गरे ठूलो विद्रोह हुने चेतावनी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले दिए।

बिपी चोकमा बिपी कोइरालाको मात्र नभई बिर मधेशी सहिदको पनि सालिक निर्माण हुनुपर्ने माग पूर्व राज्यमन्त्री समेत रहेका जसपा नेपालका नेता योगेन्द्र राय यादवले गरेका छन्।
मधेशी सहिदको सालिक निर्माण बिनाको बिपी कोइरालाको सालिक र घण्टाघर आफूहरुलाई कुनै हालतमा स्वीकार्य नहुने उनले बताए।

नेता यादवको चेतावनी पछि गौरका मेयर साहले तत्कालको लागि घण्टाघर उद्घाटन गर्ने निर्णयबाट पछि हटेका छन्।

घण्टाघर चोकमा वीर सहिद मधेशीको सालिक राख्ने विषयमा बसेको सर्वदलीय बैठकमा कुरा नमिल्दा बैठक बिना निष्कर्ष टुंगिएको बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका रौतहट जिल्ला अध्यक्ष राजीव रञ्जन यादवले साझेदारी दैनिकलाई जानकारी दिएका छन्।

बैठकमा घण्टाघर चोकमा मधेशी सहिदको सालिक राख्ने विषयमा नेताहरुले सहमति जुटाउने प्रयास गरेका थिए। अन्ततः प्रयास सफल नभएपछि अर्को बैठक बसेर सहमतिको प्रयास गर्ने गरी बैठक सम्पन्न भएको उनले बताए।

मधेशी मोर्चाले घण्टाघर चोकमा मधेशी सहिदको सालिक निर्माण गरेपछि मात्र नवनिर्मित घण्टाघर उद्घाटन गर्न दिने अडान राख्दै आएको छ।

बैठकमा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव,कांग्रेसका रौतहट जिल्ला सभापति एवं मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव,जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव,नेकपा एसका नेता रेवन्त झा,गौर नगरपालिकाका मेयर शम्भु साह लगायतका नेताहरुको सहभागिता रहेको थियो।

Leave a review