रौतहट ।ओम प्रकाश यादव/ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिलीप घिमिरेले आफ्ना एक वर्षे कार्यकालको उपलब्धि तथा प्रगति विवरण सार्वजनिक गर्दै जिल्लाबाट बिदा भएका छन्।
प्रहरी उपरीक्षक घिमिरे हिजो बुधवार रौतहटबाट बिदा भएका छन्। रौतहटमा एक वर्षको कार्यकाल पुरा गरी एसपी घिमिरे हिजो बिदा भएका हुन । उनको काठमाण्डौ उपत्यकामा सरुवा भएको छ।
जिल्लाबाट बिदा हुनुभन्दा अघि एसपी घिमिरेले एक वर्षको अवधिमा आफूले गरेका कार्यसम्पादन,प्रगति विवरण र उपलब्धि सार्वजनिक गरेका छन्।
एसपी घिमिरे २०८० चैत्र २५ गतेदेखि २०८२ वैशाख १७ गतेसम्म जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर काम गरेका छन्।
एसपी घिमिरेले सार्वजनिक गरेका आफ्ना कार्य प्रगति विवरणको पहिलो बुँदामा सर्वप्रथम रौतहट जिल्लामा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रण गर्नका लागि आफूले निम्न लक्ष्य लिएको उल्लेख गरेका छन्।
आर्थिक कुरामा शुन्य सहनशिलताको निति अंगिकार गर्ने,तस्करी नियन्त्रणमा कठोर कदम चाल्ने,प्रहरी कर्मचारीहरुलाई प्रहरी जस्तो बनाउने,जनताहरुको प्रहरी कार्यालयमा सहज पहुँच बनाउने,अपराध र अपराधिक घटनाहरुको संख्यामा उल्लेखनिय रुपमा कमि गराउने, फरार प्रतिवादिहरु पक्राउलाई अभियानकै रुपमा संचालन गर्ने,सवारी दुर्घटना,आत्महत्या जस्ता घटनामा कमि ल्याउने,पिडितलाई न्याय र पिडकलाई सजाय दिई कानुनि राज्यको आभाष दिलाउने,प्रहरी कार्यालयहरुमा दलाल/बिचौलिया र पञ्चायती प्रथालाई निरुत्साहित गर्ने लगाएत लक्ष्य लिएर कार्य गरेको उनले उल्लेख गरेका हुन् ।
आफूले लिएको लक्ष्य हासिल गर्न वा जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रण गर्न कडा कदम चालेको उनले जनाएका छन्।
सेवा प्रवाह :
रौतहट जिल्लालाई अपराध मुक्त गरी शान्ति र सुरक्षा सुनिश्चित गर्न अपराधको विष्लेषण गरी सो को आधारमा कार्ययोजनाहरु निर्माण गरी काम गरिएको,अपराधको रोकथाम र अनुसन्धान प्रभावकारी बनाउन दक्ष र योग्य टिम परिचालन गरिएको,हरेक घटनाको सुक्ष्म अध्ययन गरी तत्काल प्रहरी परिचालन गर्ने व्यवस्था मिलाईएको,गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने व्यक्तीलाई पक्राउ गरी कानुनको दायरामा ल्याइएको,फैसला कार्यान्वयनलाई प्राथमिक्तामा राखी फरार व्यक्तीहरु पक्राउ गर्न अभियान नै चलाएको जस्ता अनेक उपलब्धिमूलक कार्यहरु गरेको उनले जनाए।
कुनै पनि केश वा गुनासो लिएर प्रहरी कार्यालयमा पिडित वा पिडकको रुपमा आँउदा कुनै भनसुन र दवाव भन्दा पनि सत्य तथ्य अनुसन्धान गरी कानुन बमोजिम कार्यान्वयन गर्ने गरेकोले सबै राजनितिक दलहरुसँग सोहार्दपुर्ण व्यवहार रहेको समेत उल्लेख गरिएको छ।
त्यस्तै आफ्नो कार्यकालभरी कार्यालय प्रमुखको रुपमा सादा पोशाकमा प्रहरी परिचालन नगरीएको,कार्यालय समय पश्चात काम बाँकी भएका सेवाग्राहीहरुसँग प्रत्यक्ष रुपमा आफैले भेटघाट गरी गुनासो तथा उजुरी सम्बोधन गरेको,कानुनी राज्यको पालना गर्दै निष्पक्षता र पारदर्शिता कायम गर्न कसैको दवाब र प्रभावमा नपरी सत्य तथ्य र कानुन सम्मत कार्य गरेको,सेवाग्राहिका रुपमा प्रहरी कार्यालयमा आएका मानिसहरुको गुनासो सम्भव भएसम्मा आफै सुन्ने काम गरेको,कार्यालय प्रमुख सँग सजिलै भेटघाट गर्ने वातावरण निर्माण गरेको उनको प्रगति विवरणमा उल्लेख छ।
तस्करी नियन्त्रण :
“आफु पनि खान्न र अरुलाई पनि खान दिन्न “ भन्ने कुरालाई मध्यनजर गरी भन्सार तथा राजश्व छलि ,चोरी तस्करी नियन्त्रणमा शुन्यसहनशिलताको निति लिई कठोर कदम चालिएको बताइएको छ। जसको लागी चोरि तस्करीमा संलग्न समान,सवारी साधन र मानिस पक्राउ गरी कुनै किसिमको दवाव र प्रभावमा नपरी भन्सार तथा राजश्वमा बुझाएको उल्लेख छ।
आफ्ना अवधिमा ठुला किसिमका तस्करी गर्ने र गराउने व्यक्तिहरुलाई पक्राउ गरी मुद्धा समेत चलाउनुका साथै यसमा संलग्न प्रहरि कर्मचारीहरुलाई सरुवा तथा विभागिय कार्यवाही समेत गरिएको उनले उल्लेख गरेका हुन्।
सामप्रदायिक सदभाव कायमः
रौतहट जिल्ला बहुजाति र बहुधार्मिक मानिसहरुको बसोबास भएको जिल्ला हो। “सबैको धर्म र सस्कृतिलाई समान व्यवहार र सम्मा गर्नुपर्छ” भन्ने अवधारणालाई आत्मसात गरी स्थानिय स्तरमा रहेको धार्मिक र सास्कृतिक समस्याहरुलाई स्थानिय नागरीकहरुको सहकार्यमा गर्नुपर्छ भनेर सबैको मानव अधिकारको संरक्षण र सम्वर्दध्न गर्दै काम गरिएको उनले बताए ।
दुवै पक्ष विचमा बृहत रुपमा छलफल तथा सहमतीहरु निर्माण
स्थानिय समुदायहरुलाई नै आयोजकको रुपमा परिचालन गरीएको, सुरक्षा योजना निर्माण तथा प्रहरी परिचालन दुवै पक्ष (हिन्दु मुस्लिम समुदाय) का अगुवाहरुलाई सहभागि गराई दाहा/मोहरम,मुर्ति विसर्जन,झण्डा मेला,कृष्ण जन्माष्टमी,दँसै,तिहार,छठ लगायतका कार्यक्रमहरु सफलता पुर्वक समपन्न भएको उनको विवरणमा उल्लेख छ।
सेवा ग्राहिहरुको सहज पहुँच सम्बन्धमाः
तराई मधेसमा व्याप्त रहेको पञ्चायती प्रथा,दलाली/विचौलिया प्रथा र भनसुन सिफारिस बिना काम हुँदैन भन्ने मान्याता चिर्नको लागी निम्नानुसारको काम गरिएको उनले बताए।
भिक्टिम स्पोर्ट्स टिमको परिचालन,भिजिटरहरुको अभिलेखीकरण गरिएको, बिचौलियाहरुको अभिलेखीकरण गरी काम बिशेषले मात्र जिल्ला प्रहरी कार्यालय आउन जानकारी गराईएको,बिचौलिया काममा संलग्नहरुलाई पक्राउ गरी कारवाहि गरिएको,गुनासो सम्बोधनका लागि कार्यालय प्रमुखसँग जनताको सिधा पहुँच स्थापित गरिएको,विभिन्न स्थानहरुमा नागरीक सुनुवाई कार्यक्रम गरी पब्लिक अडिट गर्ने गरेको,पिडितहरुको सहजिकरणको लागी निवेदनको फर्मेट तयार गरी अनपढ र गरीबहरुको निवेदन/जाहेरी निशुल्क लेखिदिने व्यवस्था प्रत्येक प्रहरी कार्यालयमा गरिएको उनले बताए।
आफ्ना कार्यकालमा जघन्य अपराधको घटनामा उल्लेखनिय कमि आएको समेत उनले उल्लेख गरेका हुन्।
अपराधको अवस्थाः
एक वर्षमा ७ सय २४ वटा विभिन्न प्रकारको मुद्दा दर्ता भएको छ । सो मुद्दा मध्ये ३ सय ७० फर्छ्यौट भएको छ। सो अवधिमा ५ सय ६८ जना आरोपीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ भने विभिन्न घटनामा संलग्न ३ सय ६८ जना अझै फरार रहेको उल्लेख छ।
त्यस्तै २९ वटा चोरीको सवारी साधन बरामद गरिएको छ भने चोरीमा संलग्न ३१ जनालाई पक्राउ गरी कारबाही गरिएको बताइएको छ।
अवैध सामान बरामद,राजश्व सङ्कलन :
एक वर्षको अवधिमा जिल्ला प्रहरी तथा मातहतका सम्पूर्ण युनिटहरूले विभिन्न किसिमको अवैध सामानहरू बरामद गरी कुल ४ करोड ५ लाख ६८ हजार ४४४ रूपैयाँ राजस्व सङ्कलन गरिएको कार्य प्रगति विवरणमा उल्लेख छ।
उक्त भन्सार छलीका समान ओसार पसार गर्न प्रयोग गरिएको साइकल ३१,मोटरसाइकल २४४,पिकअप ३,सिटी रिक्सा १०, स्कारपियो ४ सहितका सवारीसाधन बरामद गरी भन्सार कार्यालय गौर र आन्तरिक राजश्व कार्यालय पथलैयामा दाखिला गरिएको एसपी घिमिरेले जानकारी दिए ।
त्यस्तै ११४ जना तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको उल्लेख गरिएको छ।
त्यस्तै जघन्य प्रकृतिको मुद्दामा ५० प्रतिशत भन्दा बढि कमी आएको छ भने सवारी दुर्घटना र आत्महत्याको घटनामा समेत उल्लेखनीय कमी आएको बताइएको छ।
रौतहटमा अब नयाँ एसपी नेत्र मनी गिरी आउन लागेका हुन् ।
उनी अबको तीन चार दिन भित्रमा रौतहट आउने बताइएको छ। अहिले डिएसपी दीपक कुमार राय जिल्ला प्रहरी कार्यालय रौतहटको निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।

