कलैया : झण्डै २५ बर्षदेखी निर्माणको चर्चा पाएको बारामा बन्ने भनिएको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सरकारको प्राथमिकतामा नै परेन ।
सरकारका अर्थमन्त्री विष्णु पौडेलले विहीबार संघीय संसदमा प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले प्राथमिकता पाएको छैन । निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लािग सरकारले यो बर्ष बजेट नै विनियोजन गरेको छैन ।
अन्य अन्तर्राष्ट्रिय विमानस्थलका लागि केही रकम विनियोजन गरेपनि सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल लागि विशेष बजेट विनियोजन गरिएको छैन। सरकारले बढ्दो यात्रु चाप व्यवस्थापन गर्न र विमानस्थलको स्तरोन्नति गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रूपमा विकास गर्न ४ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कार्गो सेवा केन्द्रको रूपमा विकास गर्न विशेष सहुलियत दिइने उल्लेख छ । भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबको रूपमा विकास गरिने नयाँ बजेटमा उल्लेख छ ।
यता सरकारले आगामी बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया वैकल्पिक विकास वित्तको उपयोग गरी अघि बढाइने उल्लेख गरिएको छ, । तर यसका लागि छुट्टै बजेट रकम उल्लेख गरिएको भने छैन ।
काठमाडौंमा रहेको त्रिभुवन बिमानस्थलको विकल्पका रुपमा निजगढ विमानस्थलको योजना अघि बढेको भएपनि हालसम्म निर्माण कार्यले गति लिन नसक्दा यो राष्ट्रिय गौरभको आयोजना गर्भमै तुहिने संकेत देखिएको यहाका आम सर्वसाधारणको धारणा छ।
यो बर्ष सरकारले बजेटमा नै समावेश नगर्दा यो विमानस्थल निर्माण हुनेमा आशंका उब्जिएको बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का पुर्व वडाअध्यक्ष नवराज बहादुर खड्काको भनाई छ ।

