जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो मातहतका कार्यालयका कर्मचारीहरुलाई पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाएर कार्यालयमा आउँन निर्देशन दिएको छ ।
उपमहानगरपालिका अन्तर्गतका सबै शाखा,उपशाखा,अस्पताल,स्वास्थ्य सेवा केन्द्र,स्वास्थ्य चौकी तथा वडा कार्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी तथा करार कर्मचारीहरूका लागि नयाँ निर्देश जारी गरिएको हो ।
नयाँ निर्देशन अनुसार,कार्यालय समयमा अनिवार्य रूपमा पोशाक र परिचयपत्र लगाई कार्यालयमा उपस्थित हुनु पर्नेछ ।त्यस्तै,सबै कार्यालयहरूमा डिजिटल हाजिरी प्रणाली (ई हाजिरी) लागू गरिएकाले,हाजिरी पुस्तिकामा उपस्थिति नभएमा हाजिर नमानिने स्पष्ट गरिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाँईद्धारा जारी सूचनामा भनिएको छ, अनुमति विना कार्यस्थल बाहिर ननिस्कनु, अनि पोशाक र परिचयपत्र बिना कार्यालय नआउनु पर्ने व्यवस्था लागू गरिएको छ ।
विशेष परिस्थिति तथा बाहिरी कार्यको हकमा पनि पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनु पर्ने छ ।साथै,उपमहानगरपालिकाले तोकेको पोशाकमा मात्र कार्यालय प्रवेश गर्न पाइने जनाइएको छ। नगर प्रहरीका हकमा पनि उपमहानगरपालिकाले तोकेको पोशाक लगाएर मात्र कार्यस्थलमा खटिनुपर्ने स्पष्ट गरिएको छ ।
सबै कर्मचारीहरुलाई शुक्रबारको दिन बाहेक अन्य दिनमा तोकिएको पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ । ब्यक्तिगत तथा कार्यालयको कामकाजले जानुपर्ने अवस्था रहेमा काज तथा बिदा स्वीकृत गराएर मात्र जान जानकारी सुचनाको माध्यमले कर्मचारीहरुलाई गराईएको छ ।

