कलैया : यातायात व्यवसायीले अव्हान गरेको अनिश्चितकालीन यातायात बन्दको कारण मंगलबार दोस्रो दिन पनि बाराको जनजिवन प्रभावित भएको छ ।
यातायात बन्दको कारण जिल्लाको कलैया,सिमरा,निजगढ,पथलैया,अमलेखगञ्ज लगायतको जनजिवन प्रभावित भएको हो । बन्दका कारण कलैयाबाट चल्ने लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरु चलेका छैनन। सवारी साधन नचलदा यात्रुहरु मारमा परेका छन । भने सधै सवारी साधनको चाप रहने सडकहरु समेत सुनसान बनेका छन ।
स्कूल बस र निजी सवारी साधन भने सञ्चालनमा रहेका छन्। गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन)नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएको छ ।
त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन् ।यातायात व्यवस्था ऐन २०४९ अनुसार,निजी सवारी साधनले यात्री ओसारपसार गर्न नपाउने व्यवस्था थियो । तर २०८१ असार १३ गते सर्वोच्च अदालतले सबै सवारी साधनलाई कानुनीरूपमा सेवा सञ्चालन गर्न सक्ने बाटो खोल्दै पुराना प्रावधानहरू खारेज गरेपछि सरकारले नियमावली ल्याएको हो ।
व्यवसायीले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भन्दै निर्णय फिर्ता लिन दबाव दिनका लागि यातायात ब्यवसायी आन्दोलनमा उत्रेका हुन ।

