जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले बुधबार नयाँ लोगो सार्वजनिक गरिएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट आधिकारिक लोगो स्वीकृत गर्दै सार्वजनिक गरेको हो । यो लोगो न केवल एउटा डिजाइन हो,यो जीतपुरसिमराको इतिहास,भूगोल,संस्कृति र सम्भावनाहरूको समग्र चित्रण गरेको नगरपालिकाले जनाएको छ ।
उक्त लोगोको डिजाइन यतिन्द्रकुमार लाभले गरेका हुन् । जो पेशाले आर्किटेक्चर इन्जिनियर हुन्। एक वर्षअघि उपमहानगरले सार्वजनिक आवेदनमार्फत ५० हजार रुपैयाँ नगद पुरस्कारसहित लोगो डिजाईन प्रतियोगिता आह्वान गरेको थियो। कुल ३० प्रतिस्पर्धीहरूबाट प्राप्त लोगोहरू मध्ये लाभको लोगो उत्कृष्ट ठहरिएको हो । सामान्य देखिने दुई अक्षरमा सिङ्गो उपमहानगर समेटिएको छ ।
लोगोमा देखिने अंग्रेजी अक्षर जे र एस केवल अक्षर मात्र होइनन्,तिनीहरू जीतपुरसिमराको सम्पूर्ण स्वरूपका प्रतीक हुन्। जे को माथिल्लो भाग चुरे पहाडको छायामा रहेको औद्योगिक क्षेत्रलाई संकेत गर्छ भने एस को आकर्षक खुड्कीलोले अमलेखगञ्ज–रक्सौल रेलमार्गको झल्को दिन्छ। यो रेलमार्ग नेपालको पहिलो ऐतिहासिक व्यापारिक रेखा हो।
एस अक्षरको माथिल्लो छेउमा दुई पँखेटा छन्,जसले सिमरा विमानस्थललाई संकेत गर्छ। अनि तल्लो भागमा जोडिएको संरचनाले त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको संगमस्थल—पथलैया—लाई समेटेको छ । नगर प्रमुख राजन पौडेलले बताए ।
लोगो केवल पूर्वाधारको प्रतिविम्ब मात्र होइन,यसले उपमहानगरको जीवनशैलीलाई पनि बोल्छ। धानका बालाले कृषि सम्भावनालाई दर्शाउँछ भने,चित्रमा रहेको हात्तीले पर्सा राष्ट्रिय निकुञ्ज र हाती संरक्षणको महत्त्वलाई उजागर गर्छ।
यसैगरी,जे को मध्य भागमा रहेको ऐतिहासिक कर्मकुमारी धारा एक गहिरो सामाजिक सन्देश बोकेको छ—छुवाछुतविरुद्धको आवाज। यो धारा सिमरा,पथलैया,आधाभार र अमलेखगञ्जका बासिन्दाहरूका लागि गर्वको विषय हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नयाँ लोगो केवल प्रशासनिक चिन्ह होइन,यो यहाँका जनजीवन,संस्कृति,इतिहास र भविष्यको प्रतिबिम्ब हो। अब यो लोगो उपमहानगरको पहिचानमात्र होइन,गर्वको प्रतिक बन्ने बिश्वास गरिएको उपमहानगरपालिकाले जनाएका छन । यता लोगो सार्वजनिक भएसंगै लोगो बारे सामाजिक संञ्जालमा टिकाटिप्पणी भईरहेको छ ।

