जीतपुर : रञ्जन यादव/ बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यसैक्रममा नेपाली कांग्रेसले क्षेत्र नम्बर ४ मा थप सशक्त बन्दै गएको दाबी गरिएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै ५ हजार ५ सय ४२ मत ल्याई तेस्रो स्थान हासिल गरेका इच्छा बहादुर वाग्ले कांग्रेसमा प्रवेश गर्नुभएको छ। उहाँको पार्टी प्रवेशसँगै क्षेत्रीय राजनीतिमा नयाँ समीकरण बन्ने आकलन गरिएको छ।
एक विशेष कार्यक्रमका बीच पार्टी प्रवेश गराइएका वाग्लेलाई स्थानीय नेताहरूले स्वागत गर्दै उहाँको अनुभव, संगठनात्मक क्षमता र जनाधारले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। वाग्लेले आफू विकास, स्थायित्व र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध भएर कांग्रेसमा आवद्ध भएको बताउनुभयो।
यस क्षेत्रबाट यसअघि नै नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्र निर्माण दल नेपाल तथा नेपाल समुन्नत पार्टी लगायतका दलहरूले आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन्। उम्मेदवारहरूको सक्रियता बढेसँगै चुनावी माहोल थप तातेको छ।
स्थानीय तहदेखि संघीय निर्वाचनसम्म प्रभाव पार्ने यस क्षेत्रलाई राजनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। विभिन्न दलहरूले घरदैलो अभियान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत मतदातासमक्ष आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन्। यसैबीच स्वतन्त्र रूपमा उल्लेखनीय मत प्राप्त गरेका नेताको कांग्रेस प्रवेशले आगामी निर्वाचनको समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ।


