जीतपुर : बाराको सिमरामा पहिलो पटक प्राथमिक उपचार सम्बन्धी एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
एन्जेल फाउन्डेसन,उर्लाबारी मोरङको आयोजनामा शनिवार सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा बारा र रौतहट जिल्लाका विभिन्न सहकारी तथा संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा आपतकालीन अवस्थाहरू—जस्तै दुर्घटना,सर्पदंश,आगलागी,उच्च वा न्यून रक्तचाप,डुब्ने घटना आदिमा गरिनुपर्ने प्राथमिक उपचारका विषयमा जानकारी दिइएको थियो । प्रशिक्षण एन्जेल फाउन्डेसनका कार्यकारी प्रमुख जय सिंह राजवंशीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा फाउन्डेसनका मार्केटिङ म्यानेजर सुशान्त कार्कीले प्राथमिक उपचार तालिमको आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए। त्यस्तै,संस्थाका प्रबन्ध निर्देशक सन्तोष कार्कीले वित्तीय साक्षरता, ऋण व्यवस्थापन र पैसाको सही उपयोग सम्बन्धी जानकारीसहित प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रमको औपचारिक उद्घाटन पुर्व कृषि मन्त्री तथा बारा क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले गर्नु भएको थियो। उहाँले प्राथमिक उपचारसम्बन्धी ज्ञान नहुनुका कारण थुप्रै व्यक्तिको अकालमा मृत्यु हुन पुगेको उल्लेख गर्दै यस्तो ज्ञान सबैमा आवश्यक रहेको धारणा राखिन्। उनले बल्यकालमा आफू आगलागीको सिकार बनेको घटनाको स्मरण गर्दै तत्काल उपचार नपाउँदा भोग्नुपरेको कठिनाइको अनुभवसमेत सुनाइन । साथै खानपानमा ध्यान नदिँदा विभिन्न रोगले आक्रान्त हुनुपर्ने अवस्था आउने बताउँदै सचेत रहन आग्रह गरिन्।् ।
संस्थाका कार्यकारी प्रमुख राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारी ,वडा न.१८ का वडा अध्यक्ष चतुरबाबु वाग्ले,साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्री लाल सहनी,बारा जिल्ला बचत तथा ऋण सहकारी सघका अध्यक्ष सत्येन्द्र ठाकुर ,समाजसेवी अमृत शर्माबजागाँई लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सिनियर असिसटेन्ट अनिषा घिमिरेले गर्नुभएको थियो । एन्जेल फाउन्डेसन समुदाय स्तरमा स्वास्थ्य सचेतना जगाई आकश्मिक रुपमा आईपर्ने स्वास्थ्य जटिलतालाई न्युनिकरण गर्न,गोप्य रोगहरुबाट हुन सक्ने जटिलता न्युनिकरण,बाँच्न सक्ने दरमा गुणस्तरीय सेवा प्रदान ,शहरी क्षेत्रका ठुला अस्पतालका डाक्टर तथा मेडिकल टिमलाई गाउँसँग जोड्ने लगायतको काम गर्दै आएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमले सहभागीहरूलाई आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने प्राथमिक उपचारका सीपहरूमा दक्ष बनाउने उद्देश्य राखेको थियो।

