रौतहट । रौतहटको गरुडा नगरपालिकाको ९ औं बजेट अधिवेशन आज उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।
नगरपालिकाको बन्दै गरेको भवनमा आज गरुडा नगरपालिकाको नगरसभाको १३ औं अधिवेशन तथा ९ औं बजेट अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो।
अधिवेशनमा गरुडा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ। सम्पन्न नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि गरुडा नगरपालिकाले कुल ६९ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको प्रमुख आतिथ्य तथा गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न भएको बजेट अधिवेशनमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६९ करोड २६ लाख १७ हजार तीन सय रुपैयाँ बजेट सार्वजनिक गरेको हो।
अधिवेशनमा नगर प्रमुख जयसवालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अनुमानित आय व्यय सहितको सो बजेट प्रस्तुत गरिएको मेयर जयसवालले बताए ।
नगरको समग्र विकासका लागि सो बजेट ल्याइएको उनले बताए।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माण लगाएत कार्यलाई विशेष प्राथमिकता दिइएको उनले जनाए।
यसैबीच नगरसभालाई उद्घाटन गर्न आएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले ५१ किलोको माला लगाएर स्वागत गरेका थिए।

